विश्वकप क्रिकेट: भारतको लगातार दोस्रो जित
एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनमा आइतबार भएको खेलमा साविकको विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।
केनिङटन ओभलमा भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३र३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो ।
भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए । यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।
हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए । अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए ।
जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो ।
अष्ट्रेलियाको यो पहिलो हार हो । अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ । अष्ट्रेलिया तालिकाको चौंथो स्थानमा छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।
प्रतिकृया दिनुहोस