३० सेकेन्डको योग विधि अपनाएर अध्ययन गरे लोकसेवा पास गर्न गाह्रो छैन
शब्दहरूको सुन्दर संयोजन गर्नेहरूले लोकसेवा आयोगले लिने परीक्षालाई विज्ञताको प्रस्तुतीकरण गर्ने उत्तम प्लेटफर्मका रूपमा लिने गर्दछन् । आफ्नो बौद्धिक क्षमता र ज्ञानका माध्यमद्वारा सार्वजनिक प्रशासनको उच्च तहसम्म पुग्ने परिकल्पना गरेका हुन्छन् । वास्तवमै यो लोकसेवा आयोगप्रतिको अटुट विश्वास हो । स्वच्छ र प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन प्रणालीमार्फत योग्यता प्रणालीको संरक्षण लोकसेवा आयोगलाई विश्वास गर्ने आधार हुन् । यसरी सार्वजनिक प्रशासनले तय गरेको मार्गमा आफूले अनुभूत गरेका र सेवा प्रवेश गर्ने दौरानमा संगालेका अनुभवलाई संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
सकारात्मक सोच
परीक्षा तयारी र लेखनमा सकारात्मक सोचले प्रभाव पार्ने गर्दछ । व्यक्तिगत सोच, विचार, मौलिकता र शब्दचयन लेखनसीपमा प्रभाव पार्ने तत्वहरू हुन् । सकारात्मक सोचले व्यक्तिको नैतिकता, आचरण, व्यवहार र पेसाप्रतिको निष्ठामा समेत प्रभाव पार्दछ । सार्वजनिक प्रशासनका हरेक गतिविधिलाई आलोचनात्मक नजरबाट मात्र सोच्ने र विश्लेषण गर्ने अभ्यासले आफ्नो लेखाइ सकारात्मक धारबाट बहन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यस्तै, नैतिकता र आचरण सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा सम्बन्ध गाँसिएका विषय हुन् ।
उम्मेदवारको व्यक्तिगत सोच, विचार र बुझाइ उत्तर लेखनमा कतै न कतै झल्किने हुँदा सार्वजनिक निकायप्रतिको हेराइ नै गलत भएको कर्मचारीले कसरी नतिजामूलक सेवा प्रदान गर्न सक्दछ भन्ने जाँचकीको बुझाइबाट परीक्षामा पछाडि पर्न सकिन्छ । त्यसैले समस्यामूलक प्रश्नलाई पनि रचनात्मक माध्यमबाट सकारात्मक ढंगले समाधानको बाटो पहिल्याउन सकेको खण्डमा उत्तरमा सकारात्मक छाप छोड्न सकिन्छ ।
अध्ययन र लेखन विधि
राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणीका परीक्षामा सोधिने प्रश्नहरूमा मैले थोरै भिन्नता पाउने गरेको छु । खरिदार÷नायब सुब्बाको परीक्षामा सोधिने प्रश्नहरूबाट खास गरेर इनफर्मल र एनालाइटिकल उत्तरको अपेक्षा गरिएको हुन्छ भने शाखा अधिकृतहरूलाई सोधिने प्रश्नहरूबाट इनफर्मल, एनालाइटिकलका साथै समस्या समाधानका लागि आफ्नो मौलिक राय सुझाबसमेतको अपेक्षा गरिएको हुन्छ ।
उत्तरलाई सुन्दर र तथ्यपरक बनाउने क्रममा समस्यासँग सम्बन्धित तथ्यांक पेस गरी उत्तरलाई तथ्यपरक र विश्वसनीय बनाउन सकिन्छ । त्यसैगरी, प्रस्तुत गरिएका तथ्यांकलाई प्रश्नको परिधिभित्र रही विश्लेषण गर्न आवश्यक छ । तार्किक विश्लेषण क्षमताले कुनै पनि विषयवस्तुलाई रचनात्मक ढंगबाट प्रस्तुत गर्न सकिन्छ । यसबाहेक शाखा अधिकृत परीक्षाका लागि तथ्यांक र विश्लेषण गर्ने क्षमतासहित समस्या समाधानका लागि राय पेस गर्ने क्षमतासमेत हुन आवश्यक छ । निर्णय प्रक्रियाका सबैजसो चरणमा यसै तहबाट सहभागी हुने अवसर प्राप्त हुने हुँदा उम्मेदवारको समस्या समाधानका निम्ति निर्णय क्षमताको योग्यता पनि खोजिन्छ ।
लेखाइलाई तथ्यपरक बनाउने क्रममा प्रथम पत्रको तयारी गर्ने समयमा नै द्वितीय र तृतीय पत्रका लागि आवश्यक तथ्यांकलाई छुट्टै नोट तयार गर्न सकिन्छ । अध्ययन गर्ने क्रममा बजारमा पाइने गाइडको पूर्ण भर नपरी कुनै एउटा गाइडलाई सन्दर्भ सामाग्रीका रूपमा लिएर खोजमूलक अध्ययन विधि अपनाउन सकिन्छ । नेपालको आर्थिक, सामाजिक राजनीतिक विषयमा हजारौँ पुस्तक बजारमा उपलब्ध हुने हुँदा त्यस्ता पुस्तकको स्वाध्ययनमार्फत ज्ञानको दायरा बढाउन सकिन्छ ।
समय व्यवस्थापन
परीक्षा तयारीका दौरान होस् या परीक्षाको समयमा, समय व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने गर्दछ । विविध कारणबाट तयारीका लागि समय व्यवस्थापन गर्न नसक्दा मैले समय नै पाइनँ भन्दै उपायको खोजी गर्न्तिर लाग्नुभन्दा पाएको समयलाई सही व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । तयारीका क्रममा १४–१५ घन्टा समय व्यवस्थापन गरे पनि घनिभूत रूपमा अध्ययन गर्ने त एक वा दुई घन्टा नै हो । धेरै समय प्राप्त हुँदा समय छ भन्दै अध्ययनको तीव्रता बढाउन सकिइरहेको हुँदैन । अझ पढ्ने समय कम प्राप्त छ भने बढी नै अटेन्टिभ र एक्टिभ भएर अध्ययन गर्ने गरिन्छ । त्यसैले समय नै पाइएन भनेर तयारी नै गर्न छोड्न भने हुँदैन ।
अर्कोतर्फ, परीक्षाका दौरान समय व्यवस्थापनको महत्व झनै हुने गर्दछ । हजारौँ मिनेट समयलाई व्यवस्थापन गरेर आर्जन गरेको ज्ञानलाई प्रथम पत्रको ९० मिनेट समय आफ्नो पक्षमा व्यवस्थापन गर्न नसक्दा करिअरको ढोका नै बन्द हुन सक्ने अवस्था आउन सक्दछ । परीक्षाको समयमा डर लाग्नु र अत्तालिनु स्वाभाविक हो । तर, आवश्यकताभन्दा बढ्ता नै डराउनु भने हानिकारक हुन सक्छ । अधिकांश परीक्षार्थीले भोग्ने समस्या पनि यही हो ।
अत्तालिएर परीक्षा नै बिगार्ने समस्या समाधानका लागि ३० सेकेन्डको योग विधि अपनाउन सकिन्छ । धेरैले यो विधिलाई वाहियात पनि भन्ने गर्छन् । किनकि, यो विधि अपनाउन गाह्रो छ । तर पनि सजिलो छ । वास्तवमै यो ज्यादै व्यावहारिक र वैज्ञानिक पनि छ । मैले यो विधि पटक-पटक प्रयोग गरेको छु र सफल पनि भएको छु । यो विधिका माध्यमबाट आफ्नो पकडबाट गुमिसकेको अवसरलाई पुनः आफ्नो पक्षमा ल्याउन सकिन्छ । यस विधिको प्रयोग गर्न ३० सेकेन्डसम्म आँखा चिम्लेर औसतमा पाँचदेखि छपटकसम्म लामो श्वास लिँदै फेर्न सकिन्छ । यसो गर्नाले डर र भयले तातेको शरीरलाई साधारण अवस्थामा ल्याउन सकिन्छ । सोच्नै नसक्ने गरी शून्यप्रायः भइसकेको मस्तिष्कलाई रिफ्रेस गरी पुनः एक्टिभ बनाउन सकिन्छ । ९० मिनेटमा ३० सेकेन्डसम्म पनि धैर्य गर्न सकिएन भने भगवानलाई पुकार्दै आँखा चिम्लेर उत्तर टिक लगाउनुबाहेक अरू कुनै उपाय रहँदैन ।
(बुढाथोकी अर्थ मन्त्रालयका शाखा अधिकृत हुन् ।)
प्रतिकृया दिनुहोस