आजदेखि एसइई सुरु, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी

धनकुटा । आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।
यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको कोर्डले जनाएको छ । यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाकाे नतिजा आगामी असार ७ गते सार्वजनिक गर्ने बाेर्डकाे तयारी छ ।
परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।
जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी भएका छन् । यो वर्ष धनकुटाका ११ वटा परिक्षा केन्द्रमा धनकुटाका ७९ वटा सामुदायीक र १४ वटा संस्थागत विद्यालयबाट नियमिततर्फ २१ सय २९, नियमित प्राविधिकतर्फ १०८, ग्रेडबृद्धितर्फ साधारणमा ११ र प्राविधिमा ५ जनाले एसइइ परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राईले बताइन् ।
यो वर्ष ११ जना केन्द्रध्यक्ष र २० जना सहायक केन्द्राध्यक्ष खटिएका छन् भने १२७ जना निरीक्षक र प्रत्येक परिक्षा केन्द्रमा १४ जना सुरक्षाकर्मी परिचालन गरिने इकाई प्रमुख राईले बताइन् ।
प्रतिकृया दिनुहोस