लोकसेवामा यसरी मौलिक उत्तर लेखेर मात्र सफल हुन सकिन्छ, शाखा अधिकृतको यस्तो छ अनुभब

तनहुँको बन्दिपुर गाउँपालिका–३ मा जन्मिएँ । नोट्रेडेम उच्च माध्यमिक विद्यालयमा एलकेजीबाट सुरु भएको विद्यालय शिक्षा डुम्रेस्थित पवित्रा माविबाट समापन गरेँ । एलकेजीदेखि कक्षा १० सम्मको अवधिमा कहिल्यै तृतीय भएको अनुभव गर्नुपरेन ।

सायद त्यही कारण कहिल्यै म कमजोर छु भन्ने हीन भावना पलाउन दिइनँ । लाग्छ, यही आत्मबल नै मेरो जीवनभरका लागि शक्तिको स्रोत हो । विद्यालयमा आयोजना हुने हाजिरी जवाफ, निबन्ध प्रतियोगितालगायत रचनात्मक र सिर्जनात्मक प्रतिस्पर्धामा प्रायः पुरस्कार जितेकै हुन्थेँ ।

लेखन र सिर्जनात्मक क्रियाकलापको भोकले परिवारको असन्तुष्टिका बाबजुद पनि एसएलसी परीक्षापछि आमसञ्चार र पत्रकारिताको औपचारिक अध्ययन सुुरु गरेँ ।

जुँगाको रेखी नबस्दै सुरु भएको लेखनको भोक मेट्न अध्ययनसँगै पत्रकारिताको अभ्यासलाई पनि निरन्तरता दिइरहेँ । तर, २०७० देखि पत्रकारिता पेसा त्याग्दै निजामती सेवामा छु । 

लोकसेवाप्रतिको आकर्षण

पत्रकारिता पेसा अँगाल्नुअघिसम्म मैले आइडल मानेको व्यक्तित्वहरूलाई पेसामै प्रवेश गरेर भोगेपछि धारणा नकारात्मक बन्न थाल्यो । पेसाकै विकल्प खोज्दै थिएँ । पेसागत स्थायित्व, सुनिश्चित वृत्तिपथ, र देशभित्रै सम्मानित जीवनको मार्ग खोजिरहेको थिएँ । 

आफ्नो मनस्थितिमा बुनिने कतिपय काल्पनिक योजनालाई सरकारको नीति र योजना निर्माणमा जोडेर हेर्थें, तर तादात्म्यता नपाउँदा अघोरै खिन्नता लाग्थ्यो । सोच्थेँ, मेरो सोच मेरै टाउकोभित्र मात्रै छ । कार्यान्वयन गर्न त्यहाँ मै पुग्नुपर्छ । र, त्यहाँ पुग्ने मार्ग भनेको एक मात्रै निष्पक्ष र पवित्र लोकसेवा आयोग मात्रै हो ।

परिभाषा घोक्नु समयको बर्बादी

मैले लोकसेवा परीक्षा दिने मनस्थिति बनाउनुअघि नै लोकसेवा तयारीमा लागेर लगातार असफल भइरहेकाहरू देख्थेँ । उनीहरूको अवस्थालाई नजिकबाट नियाल्दा कहिले काहीँ फ्रस्टेसन आउँथ्यो । रातोदिनको घोटाइ, मोबाइल स्विचअफ, सारा सामाजिक सम्बन्धबाट पर ।

हैट कुरै नगरौँ । हुलका हुल ट्युसन पढ्न गएको देख्दा आफू मात्रै पछि परेको हो कि भन्ने पनि लाग्थ्यो । अनि म पनि त्यही भिडमा कुदेँ । एक हप्तापछि ट्युसनबाट पनि अघाएँ । अनि सुरु भयो, टुप्पीकसाइ । साथीहरूबाट इन्स्टिच्युटका ह्यान्डआउट्स माग्थेँ ।

बजारमा निस्किएका किताब पनि थुपाारेँ । इन्टरनेटमा रातभर झुमियो र बजारमा आएका सोपान अन्तर्राष्ट्रिय मञ्चलगायत सबैमा कम्तीमा एकसरो आँखा लगाइयो ।

तर, जे–जति धस्सिए पनि आफ्नै मौलिक तयारी गर्न नसक्ने हो भने कपी काट्नेको निधार खुम्चिनुबाहेक केही हुनेवाला छैन भन्ने दिव्य सोच जब्बर बनेर बसिरह्यो । अध्ययनका सिलसिलामा विषयवस्तुमा प्रवेश गर्नुअघि त्यसको अवधारणागत विकासको जानकारी सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने लाग्छ ।

अवधारणा राम्ररी बुझ्न सकियो भने धेरै कुरा आफैँ पनि लेख्न सकिन्छ । लामालामा परिभाषा घोक्नु समयको बर्बादी मात्रै हो । अवधारणागत विकासलाई समात्दै त्यसलाई नेपालको सन्दर्भसँग जोडेर अध्ययन गर्ने हो भने प्रभावकारी हुन सक्छ भन्ने लाग्छ ।

विषयवस्तुसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति, तथ्यांक लगायतलाई याद गर्नु आवश्यक छ । छोटा, व्यावहारिक उदाहरण पनि टुच्च मिसाउँदा फाइदै होला ।

विषयवस्तुबारे केही सान्दर्भिक भनाइबाट सुुरुवात र अन्त्य गर्न मेसो पाइयो भने जवाफ आकर्षक पो बन्छ कि । जसरी लेखौँ, तर कपी परीक्षण गर्नेको आँखालाई सकेसम्म आफूतिर खिच्न प्रयास गरौँ ।

 संक्रमणकालको जागिर 

पेसागत जीवनको आजसम्मको पाँच वर्षे दौरानमा स्थानीय तहदेखि, प्रदेश र संघ गरी तिनै तहको अनुभव गरेँ । एकात्मक शासनको कारिन्दादेखि संघात्मक संरचना स्थापनामा स्वयं सहभागी हुने अवसर पनि जुर्याे ।

इतिहासको यो जिम्मेवारी निर्वाह गर्न पाउनलेु सायद भाग्यमानी पुस्तामा पर्छु । स्थानीय तह स्थापनाका अप्ठ्यारा—सप्ठ्यारा अब मेरा स्मृतिका सम्पत्ति हुन् ।

दूरदराजका गाउँमा लेखापाल र कार्यकारी अधिकृत गरी दुईजना कर्मचारीको टाउकोमा आइपरेको जिम्मेवारी इमान र क्षमताले भ्याएसम्म पार लगाइयो । 

स्थानीय तह मात्रै होइन, प्रदेश सरकार स्थापनामा समेत प्रत्यक्ष रूपमा सहभागी भएको अनुभवले भन्न सक्छु, उमेर, अनुभव र पद मात्रै पनि सबैथोक होइन रहेछ ।

सचिव र सहसचिवको नेतृत्वमा स्थापना भएको प्रदेश सरकारभन्दा भर्खर सेवा प्रवेश गरेका शाखा अधिकृतको नेतृत्वमा स्थापना भएको स्थानीय तह धेरै प्रभावकारी बनेको छ ।

बजेट, तालिम र आवश्यक निर्देशनको अभावमै भए पनि युवा जोस र इच्छाशक्तिको भरमा नै स्थानीय सरकारको गोरेटो खोल्ने ऊर्जाशील भ्याङगार्डुहरू सम्मानका पात्र हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...