एसएलसी पास सहायक हेडमास्टर कर्तुत : सेटिङ मिलाएर ११ पास, १२ परीक्षा दिँदा धन्दा छताछुल्ल
झापा । विवादित लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा–६ झापाका सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् ।
विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएको सार्वजनिक भएपछि चौतर्फी शंका शुरु भएको थियो । उनले कक्षा १२ को परीक्षा सेटिङ मिलाएर दिने तयारी गरेपछि उनको निगरानी आम नागरिकले बढाएका थिए ।
०७५ सालको उच्च मावि तहमा सहायक केन्द्राध्यक्ष बनेका डाँगीले २.९८ जीपीए ल्याएका थिए । आफैँ सहायक केन्द्राध्यक्ष बनेका उनले परीक्षा लिएको तत्कालिन निरिक्षकहरुलाई कसैलाई थाहा छैन । परीक्षामा निरिक्षक बसेका एक जना व्यक्तिले भने, ‘उहाँ सहायक केन्द्राध्यक्ष बनेको मात्र थाहा छ । परीक्षा लेखेको थाहा छैन, हामीले देखेका छैनौ ।’
सहायक प्रधानाध्यपक डाँगी शनिश्चरे माध्यमिक विधालयका विद्यार्थी हुन् । गत वर्ष कक्षा ११ उर्तिर्ण गरेका उनले यसपालि कक्षा १२ को परीक्षा लेख्ने तयारी गर्दै थिए । आफुले काम गर्ने विद्यालयमा केन्द्र पर्ने भएपछि उनले शनिश्चरे माविमा भर्ना गरेका थिए । अघिल्लो वर्ष परीक्षामा निरिक्षक बसेका धेरैसँगको सम्पर्कमा उनीहरुले सहायक प्रधानाध्यापक डाँगीले विद्यालयभित्र परीक्षा नदिएको जानकारी दिएका छन् ।
कक्षा ११ को नतिजा सार्वजनिक भएपछि उर्तिण भएका ६७ विधार्थीमध्ये डाँगीले प्रथम स्थान हासिल गरेका थिए । परीक्षामा सामेल नभई उत्कृष्ट अंक ल्याएपछि खोजीको विषय बनेको थियो ।
कक्षा १२ को परीक्षा आइतवा देखि शुरु भएको छ । सो परीक्षामा समेत सेटिङ भएको खवर बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय झापा, प्रहरी प्रमुख र अनुसन्धानको टोली विद्यालय पुगेको थियो । परीक्षा शुरु हुने दिन बैशाख १५ गते विहानै डाँगी विद्यालय पुगेका थिए । परीक्षाका लागि प्रश्न पत्र वितरण सकिएपछि उनी घर गएको फुटेज फेला परेको छ ।
प्राप्त जानकारी अनुसार प्रश्न पत्र लिएर घर जाने र श्रीमतिले परीक्षा लेखिदिने तयारी थियो । उनकी श्रीमतिले डिग्री गरेकी छन् ।
परीक्षा लेख्ने सेटिङ जिल्ला प्रशासनको टोली विद्यालय पुगेका कारण भंग भएको छ । गत वर्षका प्रथम विधार्थी यो पटक पहिलो दिनबाटै परीक्षाको कपि नबुझाएका कारण अनुस्थित देखिएका छन् । उनको सिम्बोल नं. २०४०१७३६ हो । विद्यालय आसपासका अभिभावकले यस्तो योजना जानकारी पाएपछि सञ्चारकर्मीलाई अवगत गराएका थिए ।
प्रधानाध्यापक गुप्ता गत वर्षका केन्द्राध्यक्ष हुन् । उनकै सहयोगमा डाँगीले सबै खाले गतिविधि गर्दै आएका छन् । गुप्ताले लामो समयदेखि विश्वास पात्रकै रुपमा लिएका एक जना शिक्षकले आन्तरिक सूचना बाहिर ल्याउन थालेपछि विधालयभित्रको गोप्य घटना बाहिर सार्वजनिक हुन थालेको छ ।
एसएलसी उर्तिण गरेका डाँगी विद्यालयका सहायक प्रधानाध्यापक हुन् । एसएलसी गरेका सहायक प्रधानाध्यापक डाँगी भन्दा तल्लो तहमा डेढ दर्जन डिग्री गरेका शिक्षक छन् । विधालयमा गंगाराम भट्टराई, रेनुका ढुङगेल, सिर्जना रोक्का, कमल ढुङगेल, रोहित गिरी, कुमारी भण्डारी, संगिता खरेल, माया गौतम र कुमार सुवेदी लगायत छन् । यसबारे एक जना शिक्षाविद्ले भनेका छन्, ‘यहाँ पढेर मात्र हुन्न । पहुँच हुनेले योग्यता भएका जनशक्तिलाई पनि अवसरबाट बञ्चित गराइदिन्छन् ।’
विद्यालयको कार्यलयभित्र शिक्षक विवरणमा डाँगीको नाम दोस्रो नम्बर राखिएको छ । यो घटनाबारे अुसन्धान शुरु भएपछि राखिएको बोर्ड आइतवार नै हटाइएको एक शिक्षकले जानकारी दिए । कार्यालयमा योग्यता सहितको विवरण राखिएको थियो । गत वर्षको परीक्षामा केन्द्राध्यक्ष , सहायक केन्दाध्यक्ष र निरिक्षक बसेका समेतको विवरण विद्यालयमा भेटिएको छ ।
यस घटनाबारे प्रधानाध्यापक गुप्ता र सहायक प्रधानाध्याक डाँगीले व्यवस्तता देखाउँदै प्रतिक्रियासमेत दिन मानेनन् । प्रतिक्रिया लिन खोज्दा झर्कोफर्को गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस