श्रीमतीले अरुका सामु श्रीमानलाई दाई भनेर चिनाउँदा...!
काठमाडौं । वैवाहिक जीवनसँगै बिताएको ५०औँ वर्षपछि श्रीमतीले अरुका सामु श्रीमानलाई दाई भनेर चिनाउँदा कस्तो अनुभव भयो होला?
रतन क्षेत्री (नाम परिवर्तन)की श्रीमती रमादेवी (नाम परिर्वतन)ले बिस्तारै सामान्य कुरा बिर्सदै जान थालेकी थिइन्। भर्खरै के काम गरँे, खाना खाए÷नखाएको समेत उनलाई याद हुन छोडेको थियो ।
रतनलगायत परिवारले रमादेवीलाई बुढेसकाल लागेकोले यस्तो भएको होला भनेर सामान्य रुपमा लिइरहेका थिए ।
तर, रमादेवीको बिर्सने बानी सामान्यभन्दा बढी हुन थालेको थियो । बिस्तारै आफन्तसमेत चिन्न छाडेकी थिइन् । इति हुँदा पनि परिवारले उनको बिर्सने समस्यालाई गम्भीर रुपमा लिएन ।
आफन्त त टाढैको कुरा भयो, रमादेवीले घरभित्रैकै व्यक्ति पनि चिन्न छोडिन् । दैनिक क्रियाकलाप गर्न समेत बिर्सन थालेपछि ८०औँ बसन्तमा हिँडिरहेका रतनको मनमा चिसो पस्यो । उनले रमादेवीलाई पाटन अस्पतालको जेष्ठ नागरिक क्लिनिक पु¥याए ।
त्यहाँ थिए डा रमेश कँडेल । उनी वृद्धवृद्धाको रोग तथा समस्या (जेरीयाट्रीक्स)का विशेषज्ञ हुन् ।
उपचारका क्रममा देखिएको अनुभव सुनाउँदै डा कडेँलले भने, ‘मैले रमादेवीसँग वहाँको ‘हिस्ट्री’ लिँदै थिए, उहाँको स्मरणशक्तिको जाँच गर्दैगर्दा मैले उहाँको श्रीमान्तिर देखाएर ‘उहाँलाई चिन्नुहुन्छ’ भनेर सोधे, उनले ‘मेरो दाई हो नि भनिन् ।’
वहाँलाई अल्जाइमर्स भएको थियो । समयमा उपचार हुन नसक्दा उहाँको स्मरण शक्ति अझ घट्दै गएर यस्तो अवस्था आएको थियो ।
‘श्रीमतीले आफूलाई दाइ भन्दा उनी रोएका थिए । त्यस्तो दृश्य मेरो क्लिनिकमा दोहोरिरहन्छ,’ डा कडेँल भन्छन्, ‘बिरामीका आफन्तसँगै मेरो लागि पनि त्यो क्षण निकै सेन्टिमेन्टल हुन्छ ।’
रतनले उनलाई ‘आफू बाँचुन्जेल श्रीमतीले मेरै मान्छे हो भनेर चिन्ने बनाइदिनुस्’ भनेर एउटै अनुरोध गरेका थिए, उनी सम्झन्छन् ।
कस्ता व्यक्तिमा अल्जाइर्मश हुने जोखिम हुन्छ ?
जेनेटिक्स अर्थात् वंशाणुगत कारणले अल्जाइमर्स हुन्छ । क्रोमोजोममा समस्या आएर कसैकसैलाई यो रोगको समस्या देखिन्छ भन्नु नै वंशाणुगत कारण हो । क्रोमोजोममा समस्या भएका व्यक्तिमा अल्जाइर्मसका लक्षण देखिने संभावना बढी हुन्छ । ५०, ६० वर्षकै उमेरमा उनीहरुमा समस्या देखिन्छ । तर सय जना बिरामी राख्यो भने अल्जाइमर्सका ९० प्रतिशत बिरामीको उमेर ६५ वर्षभन्दा माथि हुन्छ भने १० प्रतिशतको उमेर ६५ भन्दा कम हुन्छ ।
त्यसबाहेक उच्च रक्तचाप, मधुमेह आदि जस्ता रोगका कारण पनि अल्जाइमर्स हुने संभावना हुन्छ । वयस्क अवस्थामा उच्चरक्त चाप, मधुमेह नियन्त्रणमा छैन भने पछि गएर अल्जाइमर्स हुने जोखिम बढी हुन्छ ।
सामाजिक रुपमा सक्रिय नभएका व्यक्तिलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । विकासोन्मुख देशमा गरिएको एक अध्ययनले माध्यमिक शिक्षा पनि हासिल नगरेका मानिसमा पनि यो रोगको जोखिम बढी हुने गरेको देखाएको छ ।
रोग लाग्न सक्ने सम्भावना कम गर्न के गर्ने?
सामाजिक रुपमा सक्रिय हुने, मस्तिष्कलाई चुनौती दिने खालका काम गर्ने, खेल खेल्ने, नयाँ भाषा सिक्ने, उच्च रक्तचाप र मधुमेहजस्ता रोग नियन्त्रण गर्ने हो भने यो रोग लाग्ने संभावन कम हुन्छ । यसका साथै यो रोगबारे जनचेतना जगाउने खालका काम गर्न सकियो भने पनि सचेत रहन सकिन्छ ।
अल्जाइमर्सका लक्षण
भर्खरै भनेको कुरा बिर्सने स् यो रोग लागेको सुरुवाती अवस्थामा भर्खरैका कुरा बिसर्ने लक्षण देखा पर्छ । पुराना कुरा याद भएपनि भर्खरै भएका कुरा बिर्सने हुन्छ । जस्तो भर्खरै खाना खायो, एकछिनपछि मलाई खान दिएनन् भन्ने । यो समस्या धेरै बुहारीले भोगेका छन् । खाना दिएपनि बिर्सिएर छोरालाई ‘तेरो बुढीले मलाई खाना दिइन’ भन्दा कलह सिर्जना हुन्छ ।
खासमा यो कुरा बुझाउन पनि समस्या छ । किनकि, आम मानिसले भर्खरैको कुरा बिर्सने र पुराना कुरा सम्झँदा मजाक गरेको, जानीजानी बहाना गरेको भन्ने सोचका कारण धेरै बिरामी सुरुका अवस्थामा उपचारका लागि आउन सक्दैनन् । यो रोग लागेपछि नयाँ कुरा दिमागले सम्झन सक्दैन, तर पुराना कुराको याद भइरहेको हुन्छ ।
यो रोग लागेको तीन–चार वर्ष भइसकेपछि चाँहि पुराना कुरा पनि बिर्सन थाल्छन् । अनि मात्र बल्ल बिरामी अस्पताल पुग्छन् ।
एउटै कुरा दोर्होयाएर सोधिरहने, एउटै काम गर्न धेरै समय लगाउने, गलत निर्णय गर्ने, कसैले पैसा दिएको वा लिएको सबै बिर्सने, आफन्त बिर्सनेजस्ता समस्या यो रोग लागेका मानिसले सामना गर्नुपर्ने हुन्छ । पहिला ज्वाई, छोरी, छोरीपट्टीका नातिनातिना नचिन्ने, त्यसपछि विस्तारै अन्य आफन्त पनि बिर्सने समस्या आउँछ । सामाजिक रुपमा आत्पतिजनक व्यवहार गर्ने (जस्तोः गालीगलौजका शब्द बोल्ने, कपडा लगाउनै बिर्सने, हिडिरहेको बाटो बिर्सने) गर्नु पनि यस्तो रोग लागेका मानिसले प्रदर्शन गर्ने व्यवहार हो ।
रोग बढ्दैँ जाँदा पनि उपचार पाएन भने आफ्नै नजिकैका आफन्त बिर्सने, श्रीमान्लाई श्रीमतीले नचिन्ने, श्रीमान्ले श्रीमतीलाई नचिन्ने, छोराछोरी नचिन्ने, दिसापिसाबमा नियन्त्रण नहुनेजस्ता समस्या आउँछन् । कतिपय अवस्थामा पूजाकोठामा दिसापिसाब गरी त्यसैले लिपपोत गरेका घटना पनि छन्। हिँडडुल गर्न, बोल्नका लागि आवाज नै निकाल्नै बिर्सने र बिस्तारै बिस्तरामै पनुपर्ने अवस्था आउँछ ।
यो अवस्थासम्म बिरामीले सबै कुरा बिर्सिन्छ । केही यादै हुँदैन । खाना खान, निल्न सबै सिकाउनुपर्छ । यस्तो बेला सर्किएर बिरामीको मृत्यु पनि हुनसक्छ । खासमा अल्लाइमर्सले मृत्यु हुने होइन कि, त्यसबाट देखिने कठिनाइले गर्दा बिरामीको मृत्यु हुने गर्छ ।
त्यसकारण आफ्ना आमाबुवामा माथि उल्लेखितमध्ये कुनै पनि लक्षण देखिएमा चिकित्सकलाई देखाउनुपर्छ ।
प्रतिकृया दिनुहोस