ओझेलमा रहेका यी बेफुर्सदिला संगीतकार, जसले बाटो मोडेका थिए
काठमाडौं । जहाँ पनि प्रतिष्पर्धा धेरै छ । गीत संगीतको दुनियामा पनि तीव्र प्रतिष्पर्धा छ । संगीतमा हात हाल्ने धेरै छन्, रेकर्डिङमा खर्च बढेको छ । तर, संगीतकारको मुल्य बढेको छैन । एल्बम आउँदैनन् । मात्र युटयुवबाट आउने रोयल्टीको भरमा छन् संगीतकारहरु । तैपनि संगीततिर सबैको ताँती नै लागेको छ ।
यो तितो यथार्थ पनि हो । यो सबै भोग्दा भोग्दै पनि कतिपयले चाँही संगीतकै नसामा फसेका कारण यसैलाई जीवन ठान्ने गर्छन् ।
बाध्यता र विवसता सबैको आफ्ना आफ्नै हुन्छन् । कोही रहरले यो क्षेत्रमा लागेका छन् । कोही सोख पूरा गर्न मात्रै पनि लागेका छन् । र, कोही यसैलाई पेशाको रुपमा अंगाल्ने गरी लागेका छन् ।
धनकुटाको बुढिमोरङमा जन्मिएका राजशुक्र लिम्बु संगीतलाई जीवनको एउटा पाटो ठानेर लागेका छन् । उनी कतै सफल भएका छन्, कतै विफल र कतै न सफल न विफल ।
कुनै बेलाका चर्चित गायक हुन् लिम्बु । उनका हुर्रा हाहाहा, सम्झना राखी, देउलिङे मेला, धानै नाचौ सोल्टिनी जस्ता गीतले पूर्वी बजारमा राज गर्यो । जुन गीत पूर्वेलीलाई सुहाउने खालका थिए ।
‘अजम्बरी माया, तिमी विना पनि एक्लै’ जस्ता गीत पनि चर्चामा रहे । ‘टुङुनाको धुन’ सेलो गीत पनि उत्तिकै चर्चामा थियो ।
यसरी बाटो मोडियो
शिव परियार, प्राश्ना शाक्य, बाबु बोगटी, आभा मुकारुङ सफल गायक गायीकाहरु राजशुक्र लिम्बुका समकक्षीहरु हुन् । उनीहरु अझैं गायनमै छन् । तर लिम्बु संगीततिर लागेका छन् ।
उनले गायनबाट संगीततिर बाटो मोडेका छन् । ‘चटक्कै गायनलाई माया मारेर चाँही होइन’ उनी भन्छन्, ‘गायनसँगै संगीतमा हात हाल्नुपर्ने आफ्नै बाध्यता छ । विवशता छ र साथीभाईको विश्वास पनि छ ।’
गायन पर्दा अगाडी हुन्छ । अन्य सबै संगीत पर्दा पछाडी । गीत सफल बन्दा गायक गायीका चर्चाका पात्र बन्छन् । तर, त्यसका सर्जक सधैं ओझेलमै हुन्छन् । यति कुरा थाहा हुँदा हुँदै पनि लिम्बुले त्यही बाटो रोजेका छन् । अर्थात् उनको बाटो गायनबाट संगीततिर मोडिएको छ ।
उनी गाउँघरमा रहँदा, मेलोपात गर्दा र विद्यालयमा हुने कार्यक्रमहरुमा गिटार बजाउँथे । हारमोनियम बजाउँथे । गितार, हार्माेनियम जस्ता बाजाहरु सांगीतिक जीवनका साथी बनेका छन् । उनले बाटो मोडेपछि झण्डै १ सय ५० वटा शब्दलाई संगीतमा ढालेका छन् ।
राजेशपायल राईको गाएको ‘तिमी जुनझै’, प्रमोद खरेलको ‘सात समुन्द्रबाट’, अन्जु पन्तको ‘हिजो जति माया’, मेलिना राईको ‘जीवनभरी साथ देउ’, स्वरुप राज आचार्यको ‘छाडी गयौं निष्ठुरी’, सत्यराज आचार्यको ‘झस्काई रहने’ जस्ता चर्चित गीतको संगीतकार उनै लिम्बु हुन् । उनले संगीत भरेका अन्य गीतमा नयाँ पुराना गायकगायीकाका स्वर धेरै छन् ।
ब्यस्तता बढ्यो
उनका केही गीत चर्चामा छन्, केहीको चर्चा छैन । तर, उनी संगीतमै ब्यस्त छन् । गायन अब उनका लागि रहरको पेशा बनेको छ ।
विशेषगरी विदेशमा रहेर पनि गीत संगीतमा रमाउने गायक गायीकाको रोजाईमा उनी पर्छन् । किनकी ‘स्लो’ प्याटनका गीतहरु नयाँलाई फिट पनि हुन्छ । अहिले अडियोले मात्रै गीत चल्दैनन्, स्तरीय म्युजिक भिडियो पनि चाहिन्छ ।
पहिले उनी भिक्टोरिया म्युजिक कम्पनी चलाउँथे । थियो । जसले अडियो क्यासेट बजारमा ल्याउथ्यो । अहिले अडियोको बजार छैन । त्यही भएर मनोरञ्जन नेपाल युट्युव चलाउँछन् । उनी सञ्चार माध्यमको आँखाबाट टाढा छन् । तर, उनको ब्यस्तता निकै छ । उनी बेर्फुदिला संगीतकार पनि हुन् ।
प्रतिकृया दिनुहोस