स्वाइन र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा
सप्तरी (सीमरा) । सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।
सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ ।
भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
दैवी प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।
सो रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको प्रमुख मिश्रले बताए ।
सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।
रगत परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण फेला परेको सो प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले जानकारी दिए । आठ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उनले बताए ।
एकपछि अर्को गर्दै लगातार बिरामीको सङ्ख्या थपिँदै गएपछि स्थानीय त्रसित भएको बताए ।
यता, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवालाले भने पाँचै जनाको मृत्युको कारण स्वाइन फ्लु नै भएको अहिले भन्न सक्ने अवस्था नरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस