जातीय हिंसा भड्काउने प्रयास भइरहेको छ : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भईरहेको बताएका छन् ।
उनले यसप्रति सचेत रहनुपर्ने भन्दै सामाजिक चेतनाको माध्यामबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न पनि मातहतका निकायलाई सचेत गराए ।
आईतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कार लगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले बालिका बलात्कार लगायतका घटना हुन नदिन सबैलाई गम्भिर बन्न आह्वान पनि गरे ।
प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसा लगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारे । उनले दिनदिनै बालिका बलात्कार लगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भिर बन्न पनि आग्रह गरे ।
यस्तै, एक अर्को कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताएका छन् । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान दिवसलाई ‘जनताको दिवस’ को रुपमा मनाउनुपर्ने आवश्यत्ता औंल्याएका हुन् ।
आगामी असोज ३ गते मनाउन लागिएको संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहलाई पनि सचेत गराए । मुलुकको सुन्दर भविष्य कोरिएको संविधान दिवसलाई धुमधामका साथ मनाउन आ–आफ्नो ठाउँबाट आवश्यक तयारी गर्न पनि प्रधानमन्त्री ओलीले मातहतका निकायलाई सचेत गराए ।
उनले यो संविधानको महत्व झल्काउने खालका गतिविधि संविधान दिवसको अवसर पारेर अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले हिमाल, पहाड, तराई, मधेशको उत्सवको रुपमा संविधान दिवसलाई मनाउनुपर्ने पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई संविधान दिवसको अवसर पारेर एक हप्ताका लागि भएपनि मोवाईल सेवामा सहुलियत दिन पनि आग्रह गरे । उनले संविधान दिवसका अवसर पारेर समृद्धिका लागि आवश्यक जनचेतना फैल्याउने खालका निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्न विद्यालयहरुलाई पनि आग्रह गरे ।
प्रतिकृया दिनुहोस