बिमस्टेकका पाहुनालाई लुम्बिनी लैजाने तयारी, खानपिनमा विशेष सतर्कता
काठमाडौं । काठमाडौँमा हुन लागेको बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने पाहुनाको स्वागत सत्कार, नेपाल भ्रमण र खानपिनका लागि सरकारले विषेश तयारी थालेको छ ।
बिमस्टेक शिखर सम्मेलन १४–१५ भदौमा हुँदैछ । सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्ने पहिलो पाहुना म्यानमारका राष्ट्रपति विन मिन्ट हुने भएका छन् ।
बर्मेली राष्ट्रपति मिन्ट बुद्धको जन्मस्थान लुम्बिनी जाने प्रयोजनले सम्मेलन सुरु हुनभन्दा २ दिन अगाडि नै नेपाल आउँदैछन् । उनी १२ भदौका काठमाडौँ आउने टुङ्गो लागेको छ ।
१२ भदौमा काठमाडौँ आउने उनी १३ भदौमा विहानै बुद्ध जन्मस्थल लुम्बिनी प्रस्थान गर्नेछन् । उनी त्यसैदिन काठमाडौँ फर्कने कार्यक्रम छ । स्मरणीय छ, बर्मा बुद्ध धर्मावलम्बी बहुल राष्ट्र हो ।
त्यसो त, बुद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको अर्को बिमस्टेक मुलुक श्रीलङ्काका राष्ट्रपति मैथ्रिपाला सिरिसेनापनि लुम्बिनी जाने तय भएको छ । तर, उनी सम्मेलन सकिएपछि १६ भदौमा मात्र लुम्बिनी जानेछन् र त्यसैदिन स्वदेश फर्कनेछन् ।
श्रीलङ्काली राष्ट्रपति सिरिसेना १३ भदौमा काठमाडौँ आइपुग्ने कार्यक्रम छ । त्यसै दिन बिमस्टेकको अर्को सदस्य राष्ट्र भूटानका कार्यकारी प्रमुखका रुपमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश छिरिङ वाङ्चुक काठमाडौँ आइपुग्नेछन् ।
सम्मेलन सुरु हुने दिन अर्थात् १४ भदौमा ३ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौँ आइृपुग्ने कार्यक्रम छ । त्यस दिन आउनेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्यान्डका प्रधानमन्त्री प्रयूत चनओचा छन् ।
पाहुनाले खाने चियासम्म यसरी हुँदैछ निगरानी
बिम्स्टेक बैठकमा आउने विदेशी पाहुनाले पिउने चियादेखि रातिको खानासम्ममा विशेष निगरानीको तयारी छ । विदेशी राष्ट्र प्रमुखहरूको खाद्यान्न तथा पेय पदार्थको स्वच्छता र गुणस्तरमा सरकार संवेदनशील देखिएको हो ।
सरकारले कृषि विकास तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई यसको जिम्मेवारी दिएको छ । विभाग महानिर्देशक संजीवकुमार कर्णका अनुसार विदेशी राष्ट्रप्रमुख र उनीहरूसँगै आउने सहयोगीको खाद्य तथा पेयजन्य पदार्थको गुणस्तर तथा स्वच्छता कायम राख्न विशेष टोली गठन गरिएको छ ।
‘पाहुनाको स्वास्थ्यलाई विशेष ख्याल गरी उहाँहरूलाई बिहानदेखि प्रदान गरिने चिया, खाजा, दिवाभोज, खाजा र रात्रीकालीन खानासम्म परीक्षण गर्छौ,’ महानिर्देशक कर्णले भने, ‘परीक्षणको क्रममा मानव शरीरलाई नोक्सानी नगर्ने स्वच्छ र स्वास्थ्यवद्र्धक खाद्य तथा पेयजन्य पदार्थ मात्रै पस्किने व्यवस्था मिलाइएको छ । यसका लागि विशेष टोली तयार छ ।’
विभागकै वरिष्ठ खाद्य अधिकृत मोहनकृष्ण महर्जनको नेतृत्वमा चारजनाको टोली बनेको छ । भदौ १४ र १५ गते बैठक हुने भएपनि खाद्य र पेय पदार्थ निगरानीका लागि अहिलेदेखि नै टोली परिचालन गरिएको छ ।
टोलीलाई १३ देखि १६ गतेसम्म खाद्यान्न तथा पेयजन्य पदार्थबारे विशेष निगरानी राख्न निर्देशन छ । महर्जनकै नेतृत्वमा अर्को तीन टोली पनि तयार छ । टोलीमा खाद्य विभागका खाद्य अधिकृत, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि छन् ।
प्रतिकृया दिनुहोस