आन्दोलनरत डाक्टरलाई काममा फर्कन स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्कन चेतावनी दिएका छन् । स्वास्थ्यमन्त्री यादवले डा. केसीको उपचारका लागि चिकित्सकहरुको टोली जुम्ला पठाएका छन् ।
डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाडौँबाट डा। जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान जुम्लाका लागि हिंडिसकेको छ ।
डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अंचल अस्पतालबाट थप चिकित्सकको टोली लिएर आजै जुम्ला पुग्ने स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । केसीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री यादवले चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका छन् ।
उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न आग्रह गर्दै स्वास्थ्य मन्त्री यादवले अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भईरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि बताएको स्वकीय सचिव चौरसियाले बताए ।
प्रतिकृया दिनुहोस