कामु प्रधानन्यायाधीश जोशीविरुद्ध पाँच उजुरी, आज संसदीय सुनुवाई समितिको सामना गर्दै
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले आज प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई गर्दैछ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन् ।
संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको दिउँसो १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो । यसअघि सुनुवाइ समितिले उजुरीको समय दिँदै सुनुवाइको मिति तय गरेको थियो ।
जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।
उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । तर कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् ।
समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।
गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए । यद्यपि, संसदको कार्यसञ्चालन नियमावलीको अभावमा संसदीय सुनुवाइ समिति गठन नहुँदा चयन प्रक्रियाले गति लिन सकेको थिएन ।
संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्यन्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।
प्रतिकृया दिनुहोस