विद्यार्थी संगठनको चरणबद्ध तालाबन्दीका कारण भर्ना प्रभावित
काठमाडौँ । कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ ।
डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित भएको हो ।
पहिलो अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले वैशाख १० गतेदेखि पुनः ताला लगाएका छन् ।
अनेरास्ववियुसँग ६ सय कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो । संघ र क्रान्तिकारीले ५ सय जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकिकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका हुन् ।
नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दीनानाथ पराजुलीले विद्यार्थी संगठनले चरणबद्ध रुपमा ताला लगाएको हुनाले विद्यार्थी भर्ना प्रक्रिया रोकिएको बताए ।
‘स्नातक प्रथम वर्षको पढाइ ३ महिना पछि परेको छ । स्नातकोत्तर तह प्रथम वर्षको प्रवेश परीक्षा लिएर पनि परीक्षाफल प्रकाशित गर्न सकिएको छैन’, उनले भने, ‘तालाबन्दी लगाउँदा कानून संकायको शैक्षिक क्यालेण्डर नै खलबलिएको छ ।’
अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस इकाई कमिटीका सचिव दिलबहादुर वनले कोटा संख्या निर्धारण गर्दा एउटा संगठनसँग मात्र सहमति गरेर कार्यालयले गरेको हुनाले तालाबन्दी गरेका बताए ।
उनले पहिल्यैदेखि कोटा संख्या निर्धारण नगरी वा डिन कार्यालयले तोेकेको कोटा संख्याका आधारमा भर्ना गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस