सिकलसेल परीक्षण गर्न बारबर्दियाका घरघर डाक्टर
बर्दिया । थारु जातीको दुस्मन बन्दै आएको सिकलसेल रोग परीक्षण र उपचार गर्न बारबर्दियाका घरघरै चिकित्सक पुग्न थालेका छन् । घरमा मात्रै होइन, नजिकैको वडा कार्यलयमा स्वास्थ्य चाँजदेखि रगतका नमूना संकलन भइरहेको छ ।
थारु जातिमा मात्रै हुने रगत बन्ने प्रक्रियामा समस्य उत्पन्न हुने रोग सिकलसेलको नयाँ पुस्तामा हुने संक्रमण रोक्न सरकारले चलाएको अभियानसँगै बारबर्दिया क्षेत्रमा यस्तो चहलपहल देखिएको हो । गाउँभरीका थारुहरु दुई हप्तादेखि सबै काम छोडेर रगत जाँचका लागि लाइन लागेका छन्।
बारबार्दिया नगरपालिकाको बनियाभार, धाधबार क्षेत्रका १,२,३,८,९,१०,११ वडाका १ देखि २९ वर्षभित्रका २० हजार बालबालिका र युवामा सिकलसेलको जाँच हुँदैछ ।
एकपटक संक्रमण भएपनि निको नहुने सिकलसेलले बाँचुन्जेल उपचार गर्नुपर्दा थारु समुदायले निकै ठूलो सास्ती भोगेका छन् । रोग लागिसकेपछि विशेष उपचार नहुँने र बारम्बार विरामी भइराख्ने भएकोले आजिवन उपचार गराउँदाको आर्थिक बोझले थारुहरु रोगले जस्तै थलापरेका छन् ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारुहरु सिकलसेलसँग लड्दैछन् । बर्दियामा मात्रै प्रत्येक वर्ष २ हजारदेखि २ हजार ५ सय सिकलसेल प्रमाणित हुने अनुमान चिकित्सकहरुको छ ।
भेरी अञ्चल अस्पतालबाट निःशूल्क उपचारका लागि ५ सयभन्दा बढिले परिचयपत्र पाइसकेका छन्। सरकारले उपचार तीन वर्षदेखि सिकलसेलको उपचार निःशुल्क गरेपनि खाना, यातायात र अन्य जाँचहरुमा विरामीले ठूलो रकम खर्च हुन्छ।
लागेपछि निको नहुने यो रोगबाट बच्ने तरीका जेनिटिक विधि मात्रै हो । केटा र केटी दुबै सिकलसेल भएमा जन्मिने बच्चामा समेत सिकलसेल हुने अधिक संभावना भएकोले रोग पहिचान गरी सकेसम्म उनीहरुलाई बिबाह नगर्ने सल्लाह दिन सरकारी योजना छ ।
चिकित्सकहरुका अनुसार बाबु र आमामध्ये एक जनालाई सिकलसेल हुँदासम्म बच्चामा सर्ने संभावना हुन्न ।
सिकलसेल एनिमिया जीनमा निहित हुने रोग हो, जुन जन्मसँगै आउँछ। यो रोगले शरीरमा रगत बनाउँने रातो रक्त कोषिकाको संख्या घटाउँदै लाग्छ।
फास्सिफेरम मलेरिया हुने ठाउँमा मलेरियाबाट बच्न शरीरले अस्वाभाविक रातो सेल उत्पादन गर्दा सिकलसेल हुन्छ। सिकलसेल भएको मान्छेलाई मलेरिया देखिन्न। एक पटक शरीरमा यो प्रणाली (डिअडर) विकास भएपछि १ देखि ५० वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखापर्नसक्छ।
सिकलसेलले राता रक्तकोष घटेर नयाँ उत्पादनसमेत प्रभावित भई तन्तुहरुमा पोषण र अक्सिजन पुग्न छाडेपछि शरीर, छात्ति दुख्ने, रगत कमि भएर पहेलो हुने, बारम्बार जन्डिस देखिने, जोर्नी सुन्निने दुख्ने जस्ता लक्षण देखिन थाल्छन्। कतिपय अवस्थामा पेट फुल्लिने र प्यारालाइसिस हुने र ज्वरोआउँनेसमेत हुन्छ।
सिकलसेलले रोगप्रतिरोधात्मक क्षमता कम गराउँने भएकोले संक्रमितलाई बारम्बार निमोनिया, ज्वरो, रुघाखोकी पनि बढी हुन्छ। यसले मानसिक र शारीरिक विकास कम हुने, कम सुन्ने समस्यासमेत देखिन्छ। छात्ति, फोक्सो रगतका नली बढी खुम्चिने भएकोले पल्मोचरी हाइपोटेन्सन भएर दीर्घकालिन रुपमा मुटुको समस्य भएर फेल गराउँने पनि समस्यासमेत निम्त्याउँने चिकित्सकहरु बताउछन्। बारम्बार रगत चढाइरहनुपर्ने भएकोले कलेजोका रोगसमेत देखिने संभावना अधिक हुन्छ।
नेपालका थारु समुदायबाहेक अफ्रिका र इन्डियान कन्टिनेटका केही देशका आदिवासीहरुमा छ। संसारभर २५ मिलियान मानिस यो रोगबाट पीडित भएको अनुमान छ।
प्रतिकृया दिनुहोस