तेह्रथुमका १४ वटा स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु
तेह्रथुम । तेह्रथुमका १४ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ ।
जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ । सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम बस्तीका महिलाले उपभोग गर्न थालेका छन् ।
कानुनी रुपमा गर्भपतनले मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवासमेत थालेको थियो । तर सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा सो सेवा विस्तार हुन सकेको थिएन । अब आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि सो सेवा शुरु भएको छ ।
यस्तै चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ र आङबुङ स्वास्थ्य चौकीबाट समेत औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । यस्तै सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीबाट पनि गर्भपतन सेवा शुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले बताए ।
सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी खटिएका छन् । सूचीकृत स्वास्थ्य संस्था र दक्ष स्वास्थ्यकर्मीबाट मात्रै निःशुल्क गर्भपतन सेवा लिन जिल्ला स्वास्थ्य कार्यालयको आग्रह रहेको छ । सेवा शुरु भएको पहिलो वर्ष नै जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको छ ।
यो वर्षको चैत मसान्तको अवधिमा १६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । नेपालमा महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस