एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन

Lilabalv adhikari

काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमालेले संगठित सदस्यतासमेत नरहनेगरी कारवाही गरेको छ । तर कतिपयले भने यसलाई नाटक मञ्चन मात्र भएको टिप्पणी गरेका छन् ।
शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् ।
आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले बताएका छन् ।

मोरङ २ (२) बाट निर्वाचित एमाले सांसद अधिकारी कानुन व्यवसायीसमेत हुन् । अघिल्लो प्रदेशसभामा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भनेका छन् ।

कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारी वैदेशिक भ्रमणका मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फिर्ता पठाएपछि उनीमाथि प्रश्न उठेको छ । नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

उनीसँगै जापान अध्यागमन कार्यालयबाट फर्काइएका अरू तीन जना युवाहरूलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अधिकारी भने विमानस्थलमा प्रहरीले पक्राउ गर्न खोज्दा आफू मन्त्री भएको भन्दै परिचय पत्र देखाएर उम्किएका थिए । उनलाई शनिबारसम्म प्रहरीले पक्राउ गरेको छैन ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

प्रतिकृया दिनुहोस