हिरासतको बसाई लम्बिदैछ रास्वपा सभापति लामिछानेको, थप १० दिन हिरासतमै राखिने

Rabi lamichhane

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित ५ जनालाई थप अनुसन्धान गर्न हिरासतमा राख्ने म्याद १० दिन म्याद थप्ने अनुमति दिएको हो ।दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । म्याद थपको समय कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ मा सकिने सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।

सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रतिकृया दिनुहोस