एमाले अध्यक्ष ओली धारा २ अनुसार नै प्रधानमन्त्री नियुक्त, शपथ सोमबार ११ बजे

Kp oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको यो चौथो कार्यकाल हो ।

उनीसहित हालसम्म ६ जना कम्युनिस्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन् । सबैभन्दा बढी (चारपटक) प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेताको इतिहास ओलीले बनाएका छन् । दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड तीन पटक सत्तामा पुगेका छन् ।

नेपालका बहुदलकालीन प्रधानमन्त्रीहरूको सूचीमा सर्वाधिक पटक भने गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा भएका छन् । उनीहरू दुवैजना पाँच(पाँचपटक प्रधानमन्त्री भएका छन् । उनीहरू दुवैजना कांग्रेस नेता हुन् ।

कोइरालाको निधन भइसकेको छ भने देउवा अझै प्रधानमन्त्री बन्न प्रतीक्षारत छन् । एमालेसँगको सहमति पालना भए यसपछि उनकै पालो हुनेछ । पञ्चायतकालको समेत जोड्दा सूर्यबहादुर थापा समेत ५ पटक नै प्रधानमन्त्री भएका छन् । कार्यकालको हिसावमा थापा पाँच पटक भए पनि सत्तामा बस्ने भने उनी नै छन् ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको पत्र राष्ट्रपति कार्यालय पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका थिए ।

२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए ।

ओलीको शपथग्रहण भने सोमबार मात्रै हुने भएको छ । बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ ।

२०४८ सालबाटै संसदमा निर्वाचित हुँदै आएका ओली हाल झापा ५ का सांसद हुन् । उनले २०६४ सालको संविधान सभा चुनावबाहेक अन्य सबै जित्दै आएका छन् । ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।

त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष छन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा व्यस्त छन् । मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिब–करिब समझदारी बनिसकेको छ । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो । बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ ।

कांग्रेसले गृह र परराष्ट्रका अतिरिक्त ऊर्जा–जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्को कुनै एक मन्त्रालय लिने गरी छलफल अघि बढेको छ भने एमालेले अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, रक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने मोटामोटी समझदारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...