मध्यराती कांग्रेस एमालेको सरकार बनाउन हस्ताक्षर, शुरुमा ओली र अन्तिममा देउवा प्रधानमन्त्री बन्ने

एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालय कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिने, प्रदेशमा पनि भागबण्डा

Oli deuwa hastakshyar

काठमाडौं । निर्वाचनयता दुई वर्ष नपुग्दै नेकपा माओवादीबाट आलोपालो धोका पाएको महसुस गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेसले सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो ।

शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ । सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ। सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका हुन् । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । सहमतिको मस्यौदामा सहभागी नेताका अनुसार मंगलबार सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।

कांग्रेस–एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने निश्चित छ । त्यसो हुँदा उनलाई तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विकल्प हुनेछ ।

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल बाक्लिएको थियो । कांग्रेसका एक नेताका अनुसार देउवा र ओलीबीच केही दिन पहिलेदेखि छलफल चल्दै आए पनि सत्ता समीकरण नै बदल्ने स्थितिमा भने असार १५ को भेटपछि पुगेका हुन् । कांग्रेससँग सत्ता समीकरण मिलाउन लागेका ओलीले प्रधानमन्त्री दाहाललाई पनि समानान्तर रूपमा आश्वस्त पार्न भने छाडेका थिएनन् ।

ओलीसँग सोमबार भएको तीन घण्टाको भेटपछि पनि दाहाल सरकार रहनेमा अझ निश्चिन्त भएका थिए । ओलीसँगको भेटलगत्तै सत्ता जोगाउने अन्तिम कसरतका रूपमा दाहालले धितोपत्र बोर्डमा आफूले हस्तक्षेप नगर्ने सन्देशसहित ‘फास्ट ट्र्याक’ बाट नियुक्ति प्रक्रिया अघि बढाउन सोमबारकै मन्त्रिपरिषद्बाट समिति गठनको निर्णय गराएका थिए ।

यता, नेपाली कांग्रेससँगको सहकार्यमा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ ।’ ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ । यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मध्यराती कांग्रेस एमालेको सरकार बनाउन हस्ताक्षर, शुरुमा ओली र अन्तिममा देउवा प्रधानमन्त्री बन्ने

Oli deuwa hastakshyar

काठमाडौं । निर्वाचनयता दुई वर्ष नपुग्दै नेकपा माओवादीबाट आलोपालो धोका पाएको महसुस गर्दै आएका नेकप...