अन्ततः ढल्यो जसपा नेतृत्वको सरकार, अव जनमतको हातमा मधेश प्रदेश

Saroj kumar yadav


जनकपुर । अन्ततः जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मधेश प्रदेश सभाको बुधबार दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसक्दा जसपा नेतृत्वको सरकार ढलेको हो ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनुपरेको छ ।

विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवका लागि सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ ।

विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एकरएक सिट छ ।

विश्वासको मतको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री यादवले आफ्नो १७ महिना कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले आफ्नो १७ महिने कार्यकालमा ठूला सबै दलका सांसद मन्त्री बनेको र आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसकेको पनि बताए । उनले संघीयता र प्रादेशिक संरचनालाई बलियो बनाउन केन्द्रीय मनोविज्ञानलाई त्यागेर विश्वासको मत दिन सबै सांसदसित आग्रह गरेका थिए ।

अब मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा संघीय सत्ता गठबन्धनअनुकूलकै सरकार बन्ने भएको छ । नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता महेशकुमार यादवलाई अघि सार्ने तयारी छ ।

सत्ता गठबन्धनका तर्फबाट महेशकुमार यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने तयारी छ ।

 

प्रतिकृया दिनुहोस