मधेशबाट बाहिरयो एकीकृत समाजवादी, मुख्यमन्त्री जनमतको हातमा पर्दै

Samajbadi madesh

जनकपुर । मधेस सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए ।

मंगलबार एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् । सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

मधेस प्रदेशमा एकीकृत समाजवादीका ७ सांसद छन् । यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले एक दिनअघि नै राजीनामा दिएपछि यादवको विश्वासको मत पाउने सम्भावना लगभग सकिएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम सरकार विस्तार गर्न सकेको छैन । त्यही भएर मधेस प्रदेशबाट पनि हटेको थिएन । सोमबार शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच प्रदेश सरकारलाई बलियो बनाएर जाने सहमति जुटेको थियो । त्यसको भोलिपल्ट समाजवादीले मधेस प्रदेश सरकार छोडेको छ ।

एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार, सोमबार तीन पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल भएको थियो । मधेसमा जनमत पार्टीलाई सरकारको नेतृत्व दिन चार दलबीच सहमति जुटिसकेको छ ।

जनमत पार्टीले मधेसमा मुख्यमन्त्री शपथ नगरी केन्द्र सरकारमा सहभागी नहुने अडान लिएको थियो । अब जनमतलाई केन्द्रीय सरकारका सहभागी हुने बाटो खुलेको छ । योसँगै सुदुरपश्चिम सरकार पनि विस्तार हुने पक्कापक्की भएको छ ।

प्रतिकृया दिनुहोस