विपक्षी गठबन्धनमा माधवको इन्ट्री हुँदा मधेसबाट सत्ता गठबन्धन धरापमा

4 leader

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ विपक्षी गठबन्धनमा रहेका दलका नेतासहित नेकपा एकीकृत समाजवादीलाई छलफलका लागि बोलाए ।

छलफलका लागि कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला थिए । सो क्रममा मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको बताए । एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमत छ । कांग्रेस, लोसपा र एकीकृत समाजवादीले समर्थन गरे यादव सरकार जोगिने अवस्था छ ।

प्रतिकृया दिनुहोस