सरकारमा एउटा जसपा आउट हुँदा अर्काे जसपाको सानदार इन्ट्री

Upendra yadhav

काठमाडौं । विभाजनको आलो जोसमा रहेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनफिर्ता लिँदा फुटेको अर्काे जनता समाजवादी पार्टी सरकारमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् ।

यादवले सोमबार सभामुख घिमिरेलाई पत्र पठाएका हुन् । उक्त पत्रमा भनिएको छ, ‘सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसद्मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ ।’

यता, यादव नेतृत्वको पार्टीबाट अलग्गिएर ७ सांसदले अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी सरकारमा गठन गरेका छन् । नयाँ पार्टी गठन गरेपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट दुई मन्त्री थपिएका छन् ।

प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त भएका छन् । प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना वन राज्यमन्त्री नियुक्त भएका हुन् ।यसअघि उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए ।

प्रतिकृया दिनुहोस