जिम्मेवारी विना नै नयाँ गठबन्धनका ३ मन्त्रीले लिए सपथ
काठमाडौं । नयाँ गठबन्धन बनेसँगै तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।
तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन् । माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए । एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए । रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए ।
४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । त्यतिबेला एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए ।
मानविकीमा स्नातकोत्तर गरेका उनी पर्वत कुश्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियूमा संगठित हुदैं उनले राजनीति सुरु गरेका थिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि उनी पर्वत–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेको तर्फबाट संसद्मा प्रमुख सचेतको भुमिका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियूका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । ४९ वर्षीय धादिङवासी अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापना कालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहयात्री भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए ।
वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।
प्रतिकृया दिनुहोस