बजेट सक्न हतारो, एकै दिन २९ अर्बभन्दा बढी सकियो
काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् ।
चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा मनलाग्दी खर्च गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारी निकायले पछिल्लो ५ दिनमा ३७ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन् । कार्यालयका अनुसार सरकारले बुधबार मात्रै १५ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
यस्तै, सरकारी निकायले पुँजीगततर्फ मंगलबार ८ अर्ब १८ करोड ९२ लाख रुपैयाँ खर्च गरेका थिए । यस्तै, सोमबार ६ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खर्च भएको थियो भने आइतबार ३ अर्ब ५० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । गत शुक्रबार ३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बुधबारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
प्रतिकृया दिनुहोस