कविता : तिमी बिना कफी टर्राे !
जक्सन छेउछाउ वरिपरी
हरेक भेटको दैनिकी
कफीको चुस्की सँगसँगै
शुरू र अन्त्य !
कफी थरीथरीका
कालो कफी, दूध कफी, चिनी भएको/नभएको
गाढा, हल्का गाढा अनि फिक्का कफी,
हामी एक, कफी अनेक
तर स्वाद भने एउटै !
एक कप कफी पिउन
घण्टौँ बितेको पत्तै नहुने
एक संवाद सकी चुस्की
लिँदा पनि चिसै नहुने !
आखिर कफी चिसो भए पनि
हामी दुईको आँखामा आँखा
एक अर्कामा जुधेर, ठोकिएर
आगोको ज्वाला निस्कन्थे !
र नजर फिर्ता कफीको कपमा
जाँदा कफी उम्लिरहेको हुन्थ्यो
घण्टौपछि अर्काे चुस्की पिउँदा पनि
तातो ! जस्तो पहिले थियो !
पहिले बाहना थियो
कफी पिउने, हामी भेट्ने
खै, अहिले चाहना बनिदिँदा
त्यो कफी मात्र कफी रहेन
मेरो आदत बनिसके छ
जब आउँछ कफीको याद
म हेर्छु ती रित्ता गिलास
जो घोप्टा पारिएका छन् !
आज फेरि बेस्सरी याद आयो
त्यो कफी अनि ती इसाराको
अनि मैले कफी किनेँ
हतार–हतार घोलेर बनाएँ
पाँच मिनेटमै पिइसक्दा पनि
त्यो अन्तिम चुस्की
अहो कति खल्लो ...?
कति चिस्सो ... ?
आज यो कफी कपले पनि चियर्स गर्न
आफ्नो साथी खोजिरहेछ
ठिक त्यसैगरी यि नयनले पनि
ठोक्किएर आगो बाल्ने जोडी खोज्दैछन !
कारण कफी चिसो र स्वादविहीन भो
चिनी, दूध यी सबले पनि कफी मिठो नहुने रैछ
आखिर कफी स्वादिष्ट बनाउने
त तिम्रो फ्लेवरको मोहनी रैछ !
म एक्लै छु मेरा नयन थाके खोजेर,
मन बेचैनी भो अनि जिब्रो मर्याे
कारण तिम्रो अनुपस्थितिमा
कफीको स्वाद नै टर्राे !!
हो, तिमी बिना कफि टर्राे !!!
अनामनगर, काठमाडौं ।
प्रतिकृया दिनुहोस