२४३ मा डेङ्गु र २८६ मा स्क्रब टाइफस सङ्क्रमण
काठमाडौँ । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेङ्गुका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेङ्गु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए । उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम सङ्क्रमित भेटिएका हुन् । लकडाउनका समयमा चार/पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको सङ्क्रमण दर बढ्न नपाएको उनले बताए ।
डेङ्गुले हरेक तीन/तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष सङ्क्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गत आबमा १२७ जनामा सङ्क्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए ।
मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस