८ प्रतिशत बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब
काठमाडौँ । कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षका दुई महिनामा रेमिट्यान्स वृद्धिदर ०.६ प्रतिशतले ऋणात्मक हुँदा पनि १ खर्ब ५३ अर्ब ३५ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘उक्त अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।’
गत आर्थिक वर्षका पहिला दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर बढेको देखिए पनि मासिक रूपमा भने घटेको छ । गत साउनमा मात्र २३ प्रतिशतको वृद्धिदरसहित ९३ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । भदौमा यो घटेर ७३ अर्ब रुपैयाँमा सीमित भयो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि कोभिड–१९ को असर भने परेको देखिँदैन । नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो ।
यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको छ । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिड–१९ को असर कम देखिएकाले रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले जनाएको छ ।
भारतबाहेक अन्य मुलुकमा रोजगारीका लागि गएका धेरै जना नफर्किएकाले रेमिट्यान्स धेरै नघटेको राष्ट्र बैंकका अधिकारीहरूको तर्क छ । अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकमा कोभिड–१९ को जोखिम उच्च भए पनि उनीहरूले लामो समय लकडाउन गरेनन् । त्यसैले पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव नेपाल भित्रिने रेमिट्यान्सको दरमा परेको हो ।
दसैं र तिहारअघिको महिना भएकाले गत असोजमा पनि केही रेमिट्यान्स बढ्न सक्ने अनुमान गरिएको छ । नेपालमा लकडाउन सुरु भएपछि राष्ट्र बैंकले पनि १० प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्न सक्ने अनुमान गरेको थियो । रेमिट्यान्स आउने प्रमुख राष्ट्रमा कोभिडको असर धेरै रहेको भन्दै यस्तो अनुमान गरिएको थियो । गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
मुलुकको चालु आय र व्ययको हिसाब देखाउने चालु खाता गत भदौमा करिब २६ अर्ब ७ करोड रुपैयाँले बचतमा छ । गत वर्षको भदौमा यो खाता २२ अर्ब ६९ करोडले घाटामा थियो । गत साउनमा २५ अर्ब ४१ करोडले बचतमा थियो ।
२०७३ मंसिरयता गत असारसम्म यो खाता निरन्तर घाटामा थियो । चालु खातामा वस्तु आयात–निर्यात, सेवा आयात–निर्यात, रेमिट्यान्सलगायत रकम ट्रान्सफर र मुलुकलाई प्राप्त आयव्यय समावेश गरिन्छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात घटेको, सेवाअन्तर्गत भ्रमण, शिक्षालगायतमा मुलुकबाट बाहिरिने खर्च कम भएकाले चालु खाता बचतमा गएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
गत भदौमा मुलुकको अर्थतन्त्र (शोधनान्तर) ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको भदौमा ७ करोड ८५ लाखले बचतमा रहेकामा चालु आवको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।
गत चैतदेखि नै शोधनान्तर बढ्न थालेको हो । यही क्रममा जेठसम्म आइपुग्दा शोधनान्तर बचत करिब पौने २ खर्ब रुपैयाँ पुगेको थियो । गत वैशाखमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।
लकडाउनको अवधिमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घट्नुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको प्रतिवेदनले औंल्याएको छ । गत भदौसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
गत असारको तुलनामा यो करिब २।३ प्रतिशतको वृद्धि हो । २०७६ असारमा यो १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ थियो । गत वर्ष अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७७ भदौमा १२ अर्ब २० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत भदौसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १४.९ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस