सुनसरी मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि
मोरङ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कटहरेमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको हो ।
घटनाको अनुसन्धानका लागि खटिएको संघीय इकाई कार्यालय धरानबाट कुकुरसहितको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीको अनुसन्धानपछि घटनामा १५ वर्षीय बालकको संलग्नता भएको खुलेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार असोज १० गते राति २ बजे मिना राईको शव घरभित्रै फेला परेको थियो। घरमा बालिका एक्लै भएको अवस्थामा राति १० बजेतिर १५ वर्षीय बालकले चटपटे खानका लागि विवाद हुँदा मिनालाई सिसाको बोतलले टाउकोमा प्रहार गरेको प्रवक्ता कार्कीले बताए ।
टाउकोमा प्रहार गरेसँगै बालकले बालिकाको घाँटीमा भेष्ट र रुमालले कसेर हत्या गरी आफ्नो घरमा सुत्न गएको अनुसन्धानबाट खुलेको उनले बताए। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी राखेको छ। प्रहरीले घटनाबारे जानकारी पाएको २४ घण्टाभित्रै संलग्न बालकको पहिचान गरि पक्राउ गरेको जनाएको छ ।
घटना भएको राति छिमेकीको घरमा धामी बसेको हेरेर बिहान करिब २ बजे घर फर्किँदा परिवारले मिनाको शव कोठामा लडेको देखेका थिए। त्यसपछि परिवारले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस