आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ स् ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।
वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
आजका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोकाको नासल चोकमा वसन्त श्रवणको विशेष समारोह हुने गर्दछ । जहाँ राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिसहित देशका उच्च पदस्थ व्यक्तिहरूलाई वसन्त श्रवण गराइन्छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार आज वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेलका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने छन् ।
उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
१२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन हनुमानढोका दरबारमा राष्ट्र प्रमुखलाई सुनाउने प्रचलन छ ।
वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिएको छ ।
नेपाल पञ्चाङ्ग निणर्णायक विकास समितिका अनुसार यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।
खनालका अनुसार परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ(आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।
उनका अनुसार श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अदभूत, निकै अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि म ऋतुहरुमध्ये म वसन्त हुँ भनेका छन् ।
त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस