बलात्कारपछि विभत्स हत्या गरिएकी १२ वर्षे बालिकाको न्यायका लागि काठमाडौँमा प्रदर्शन
काठमाडौँ । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा युवाहरु सशक्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित शनिबार काठमाडौं माइतीघरमा प्रदर्शन गरिएको हो ।
काठमाडौंको माइतिघरमा दुई विद्यार्थी पूजा गडेल, दीपा जैसीले अपराधीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका थिए ।
यसैबीच सम्झना हत्याको दोषीलाई कडा कारवाही गर्नुपर्ने , कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने, श्रृखलाबद्ध घटनाको अन्त्य हुनुपर्ने लगाएतका माग राख्दै संयुक्त दलित युवा संघर्ष समितिले पनि शनिबार माइतिघरमा प्रदर्शन गरेको छ ।
बुधबार बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी १२ बर्षिया बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो । प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ ।
प्रतिकृया दिनुहोस