भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४० लाख नाघेको छ । संक्रमितमध्ये करीब ३१ लाख चार हजार निको भएका छन् । ४० लाखभन्दा धेरै संक्रमित हुने भारत तेस्रो मुलुक हो । अमेरिका र ब्राजिल भारतभन्दा अगाडि छन्। अहिलेकै रफ्तारमा संक्रमितको संख्या थपिने हो भने भारतले ब्राजिललाई केही दिनमै पछि पार्न सक्छ । आठ लाख ४६ हजार उपचाररत संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर छ। हिजो एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ८७ हजार ११५ नयाँ संक्रमित भेटिए ।
हिजो श्रकबार ६९ हजार संक्रमित निको भए । कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको छ । विश्वमा कोरोनाबाट धेरै मृत्यु हुनेको देशको सूचीमा भारत तेस्रो नम्बरमा छ ।
सबैभन्दा बढी अमेरिकामा एक लाख ९२ हजार र ब्राजिलमा एक लाख २५ हजारको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म कोरोनाबाट आठ लाख ७८ हजारको मृत्यु भएको छ । विश्वमा कुल संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार नाघेको छ । तीमध्ये करीब एक करोड ८८ लाख ८० हजार संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस