पाकिस्तानमा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षाकर्मीको हत्या, २१४ जनालाई बनाइयो बन्दी

इस्लामवाद । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो ।
क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गोली चलाएर केयौंलाई बन्धक बनाएको समाचार एजेन्सीहरुले जनाएका छन् । सो सङ्गठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त रेल क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
बन्धकहरूलाई उद्धार गर्न सुरक्षा बल घटनास्थलमा पठाइएको र हेलिकप्टरहरू परिचालन गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीले जनाएका छन् ।
सुरक्षा निकायले दिएको जानकारी अनुसार रेल नियन्त्रणमा लिने क्रममा महिला र बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको थियो। त्यसमा रहेका १०४ जनालाई भने सुरक्षा निकायले उद्धार गरेको छ। उद्धार हुनेमा ५८, पुरुष, ३१ महिला तथा १५ बालबालिका छन्। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।
भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताएको छ ।
एक वरिष्ठ सैनिक अधिकारीले रेलमा क्वेटाबाट चढेका एक सयभन्दा बढी सेनाका कर्मचारीहरूले यात्रा गरिरहेको बताएका बीबीसीले जनाएको छ । बीएलए आफूले नियन्त्रणमा लिएकाहरूलाई उद्धार गर्ने प्रयास गरिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
बीएलएले बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको छ । त्यस क्रममा बीएलएले प्रहरी स्टेशन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिका सहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस