जातीयताकै आधारमा निर्घात कुटिइन् कीर्तिमानी राष्ट्रिय खेलाडी लामगादे
पक्राउ परे श्रेष्ठ दम्पति, अनुसन्धानका लागि ५ दिनको म्याद थप
झापा । दलित भएकै कारण एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादे निर्घातरुपमा कुटिएकी छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेलाई झापाको मेचीनगर–१३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन् । श्रेष्ठ पूर्व सेना हुन् ।
पूर्व सेना श्रेष्ठ र उनकी पत्नीले सोमबार राति करिब ८ बजे स्थानीय राजन दर्जीमाथि कुटपिट गरेका थिए । उनी भाग्दै घर आएपछि लामगादे र उनका पतिले छुट्याउने प्रयास गरेका थिए ।
उल्टै उनीहरुमाथि नै श्रेष्ठ दम्पतीले आक्रमण गरेका थिए । चन्द्रकलाका श्रीमान सुमनले राजन दर्जीलाई जातीय गालीगलौजसहित कुटपिट हुँदा ज्यान जोगाउन आफ्नो घर आइपुगेपछि आफुलाई समेत निर्घात कुटपिट गरेको बताए ।
कुटपिटका कारण घाइते भएकी लामगादेको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनको सात महिनाको गर्भसमेत थियो । लामगादेका श्रीमान सुमन खाती पनि घाइते छन् ।
श्रेष्ठ पत्नीले चन्द्रकलालाई पेटमा धक्का पुग्ने गरी कुटपिट गरेकी थिइन् । चन्द्रकलाका पतिलाई श्रेष्ठले सेनाले प्रयोग गर्ने पेटी प्रहार गर्दा पिठ्युमा निलडाम छ । घाइते चन्द्रकलालाई तत्काल नजिकैको मनकामना अस्पताल लगिएको थियो । तर, अस्पतालले राति नै बी एण्ड सी रिफर गरेको थियो ।
तीन महिनाअघि जिल्ला बाहिरबाट निमा शेर्पालाई स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न खोजी गरिरहेको थियो । सोही क्रममा श्रेष्ठकै घरमा रहेको होटलमा निमा र राजन खाजा खाइरहेको अवस्थामा स्थानीयले निमासँगै राजनलाई पनि क्वारेन्टाइनमा राखेका थिए ।
१४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर समेत नेगेटिभ आएर घर फर्किएका राजनलाई श्रेष्ठले जातीय शब्द प्रयोग गरेर सधैं दुर्व्यवहार गर्दै आएको मेचीनगरकी कार्यपालिका सदस्य निर्मला परियारले बताइन् ।
श्रेष्ठले सधैं ‘कोरोना लागेको दमै मेरो घर छेउछाउ देखा नपर’ भन्दै दुर्व्यवहार गर्दै आएका थिए । यसैबीच जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिएका छन् ।
पक्राउ परे श्रेष्ठ दम्पति
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदक विजेता लामगादेलाई कुटपिट गर्ने श्रेष्ठ दम्पति पक्राउ परेका छन् । पीडितले आफुलाई जातीय जालीगलोज गर्दै कुटपिट गरिएको उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धुलावारीले श्रेष्ठ दम्पतिलाई दिउसो ३ बजेतिर पक्राउ गरेको छ ।
पक्राउ परेका श्रेष्ठ दम्पतिलाई ५ दिनका लागि म्याद थप गरी हिरासतमा राखेको र कानुन अनुसार कारबाहीका लागि प्रक्रियाअघि बढाइएको कार्यालयका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।
प्रतिकृया दिनुहोस