धरानमा कोरोना संक्रमणबाट थप १ को मृत्यु, मृतक लागूऔषधका प्रयोगकर्ता
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका सिराहाको लहानका २२ वर्षीय युवकको सोमबार दिउँसो ३ बजे मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्यामा पछिल्लो यो मृतकको संख्या जोडिएको छैन । मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको पाइएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीन जनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस