कविता : ‘म मुकुन्दे’
हो म पुण्यप्रसाद सुवेदीकै छोरो हुँ ।
बुधबार
तमोर नदीमा धमिलो पानी
एकातिर
वल्लो किनार, पल्लो किनार गर्दै थिए
अर्कातिर
एउटा किनारमा
पुण्यप्रसादको पार्थिव शरीरमा
आगोको पुल्टो सल्किँदै थियो
मेरो आँखाको डिलमा
आसुका भेलहरु
तमोरको पानीसँगै बग्दै थिए ।
गोबिन्द, दुर्गा र चन्द्र सुवेदीको टाउकोमा
सेतो टालोले शोक मनाउँदै गर्दा
मेरो टाउकोमा कालो कपालले
रमिता हेर्दै थियो
मानौ मेरो कपाल दर्शक हो
मानौ म
समाजको अनुहारमा कालो पोत्ने अंगार हुँ ।
पुण्यप्रसादको मुखमा दागबत्ती झोसिदा
म मलामीसँगै
मलिन अनुहारमा
मन्टो उठाएर
सुक्कसुक्क सुकसुकाउँदै
हात लम्किन खोज्थ्यो
तर,
मनको हात छातीमै राखेर
दागबत्ती दिएको कल्पना गरे
र धिक्कार्न थाले
थुक्क, म र मेरो समाज धन्न टिकेको रहेछ ।
हो म पुण्यप्रसादकै छोरो हुँ
जसको हात समातेर
म हुर्किएँ, बढें र पढें
आज उसकै लास चितामा जल्दा
ममाथी समाजले प्रश्न तेर्साएर
मेरो पाइला रोक्यो
म भित्रभित्रै जलि रहेँ
मुटु भक्कानी रह्यो
भित्रभित्रै सोधें
मैले दलितकी छोरी बिहे गर्दा के अपराध गरे हँ ?
(यो २०७५ साउन २२ गते बुधबारको दिन ‘म मुकुन्दे’ शिर्षकमा लेखिएको हो । जुन कविता साहित्यकार मुकुन्द प्रयासप्रति भएको घटनाको निन्दा गर्दै कोरिएको हो ।)
प्रतिकृया दिनुहोस