सशस्त्र प्रहरीको गणमा ४२ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जना प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरीका संक्रमितमध्ये ४० पुरुष र २ महिला छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।
कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।
संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ ।
यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।
यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।
कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो । सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जुन अस्पतालमा संक्रमित छन् उनीहरुलाई सोही अस्पतालमा राख्न निर्देशन दिएको छ । भरतपुर अस्पतालमा संक्रमितले शय्या भरिएका कारण थप संक्रमित राख्न सक्ने अवस्था छैन ।
प्रतिकृया दिनुहोस