रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश

एजेन्सी । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने । “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उनले थपे ।
यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिए । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनले बताए ।
यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन । आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गरे ।
प्रतिकृया दिनुहोस