उपत्यकामा कोरोनाको जोखिम बढ्यो
काठमाडौँ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।
सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।
काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए ।
उनले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने बताए । उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक नाकाबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जोड दिइएको छ ।
बन्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिकृया दिनुहोस