विराट नर्सिङ होममा कार्यरत ४ जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

Birat hospital

विराटनगर । पछिल्लो समयमा चिकित्सक र सुरक्षाकर्मीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको पाइएको छ । पछिल्लोपटक विराटनगरको विराट नर्सिङ होममा कार्यरत ४ जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो । सो क्रममा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नर्सिङ होममा कार्यरत संक्रमितको संख्या पाँच पुगेको छ ।

पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । संक्रमितमध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत थिइन् ।

संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५ र १० नम्बर वडाका हुन् । एक जनाको ठेगाना धरान रहेको र एक जना कोसी अस्पतालमै बस्ने गरेको पाइएको छ । हाल पोजेटिभ देखिएकासँग अरु कर्मचारी र स्वास्थ्यकर्मीको सम्पर्क भएको हुन सक्ने अनुमान महानगरले गरेको छ ।

गत मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा संक्रमणको पुष्टि भएको थियो । सबै विवरण गलत टिपाएर पीसीआर परीक्षण गराएका उनी संक्रमण देखिएपछि सम्पर्कविहीन बनेका थिए ।

३८ घण्टापछि बिहीबार महानगरको सम्पर्कमा आएका उनलाई शुक्रबार राति उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । शनिबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएका उनी अहिले शिक्षण अस्पतालमा उपचाररत छन् ।

कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत छन् । अस्पताल गत बिहीबारदेखि नै अनिश्चित कालका लागि सिल गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...