गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ वृद्धको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी
वीरगञ्ज । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आइतबार बिहान कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको छ । वीरगन्जको आदर्शनगरका व्यापारी हुन् । कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल छ ।
नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । उनको आरडिटी पोजेटिभ देखिएको छ । तर, पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।
मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।
नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
वीरगन्जमै गत मंगलबार यता मात्रै ३ जना संक्रमितको मृत्यु भइसकेको छ । पर्सामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार तीमध्ये बाराका ३ र पर्साका २ जना हुन् भने वीरगन्जमा बेवारिसे भेटिएका एक संक्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।
कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ । गण्डक कोभिड अस्पतालमा ५३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस