कोरोना अपडेट : लकडाउन खुलेयता ४८९ जना कोरोनाका नयाँ संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं । लकडाउन खुले पनि नेपालमा कोरोना संक्रमितको संख्या थपिन भने कम भएको छैन । सरकारले चैत ११ गते देशभर लागू गरेको लकडाउन गत मंगलबार मध्यरातबाट हटायो ।
त्यस दिनयता देशभर ४ सय ८९ जना कोरोनाका नयाँ संक्रमित भेटिइसकेका छन् भने पाँच जना संक्रमितको मृत्युसमेत भइसकेको छ । जसमा तीन महिलासहित दुई पुरुष छन् ।
शनिबार अर्थात् लकडाउन खुल्ला भएको चौथौं दिन मात्रै थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
लकडाउन खुलेको पहिलो दिन नै १ सय संक्रमित थपिएका थिए । दोस्रो दिन १ सय ४७, तेस्रो दिन १ सय ३३ र आज शनिबार पनि १ सय ९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
शनिबार देशभरिका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ कोरोना संक्रमित उपचाररत छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा १ सय ४५, प्रदेश २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् ।
गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत छन् । शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिकृया दिनुहोस