फेरि बढ्यो संक्रमितको ग्राफ, १६७ संक्रमित थपिँदा १७ हजार ३४४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनअघि दुई अंकमा रहेको संक्रमितको दर गत सोमबारदेखि पुनः तीन अंकमा पुगेको छ ।
बिहीबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बुधबार १ सय १६ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका १७, ओखलढुंगाका १५, कैलालीका १४, कञ्चनपुरका १४ जना, बाँकेका ८, डडेलधुराका ८ जना, इलामका ६ र दैलेखका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १/१ को कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८, कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् ।
बिहीबारसम्म देशका विभिन्न क्वारेन्टाइनहरुमा २३ हजार ५ सय जना रहेका छन् । आइसोलेसनमा ६ हजार ५६ जना रहेको प्रवक्ता गौतमले जनकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा चार हजार ९८१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेको छन् । जससँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार २ सय ४९ रहेको छ ।
प्रतिकृया दिनुहोस