बेहुलासहित ५ जना विवाहा मण्डपबाटै पक्राउ
काठमाडौँ । बेहुलासहित ५ जनालाई प्रहरीले विवाहा मण्डपबाटै पक्राउ गरेको छ । प्रहरीले व्यास नगरपालिका–११ स्थित बालविवाह गर्ने गराउने ५ जना पक्राउ गरेकोे हो । सो ठाउँकी १४ वर्षीया बालिकासँग गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई मण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाले उनीहरुको विधिवत् रुपमा बालविवाह हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताए । ‘बालिका बेहुलीको पोसाकमा सजिएर घुम्टो ओडी, सिउँदोमा सिन्दुर समेत हाली सकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो’, उनले भने, ‘बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितसमेत ५ जनालाई नियन्त्रणमा लिइएको छ ।’
उनीहरुलाई कानुनबमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्षमुनि विवाह भएमा बदर हुने संहितामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस