चितवन मेडिकल कलेजमा ३० श्ययाको कोभिड आइसियू कक्ष स्थापना
काठमाडौँ । चितवन मेडिकल कलेजले ३० श्ययाको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।
सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१/२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् । मेहताले सामाजिक सञ्जालमार्फत सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गरेका हुन् ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले ३० श्यया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए । भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।
स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उनले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उनको भनाइ छ ।
अस्पतालले पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि २५ करोड हाराहारी खर्च भएको उनले जानकारी दिए ।
सोही मेडिकल कलेजका प्राविधिकहरुले अहिले पनि भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका–५ मा श्यया उपलब्ध गराएर सहयोग गरेको छ ।
प्रतिकृया दिनुहोस