भारतीय वैज्ञानिकहरुले बनाए कोरोना विरुद्धको विशेष प्रकारको पोलिमेरिक सुपर हाईड्रोफोबिक कोटिङ
नयाँ दिल्ली । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध अहिले सिंगो विश्व जुधिरहेको छ । यस विरुद्धको खोप पत्ता लगाउन विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु अहोरात्र लागिपरेका छन् ।
प्रयोगात्मक रुपकै भएपनि उपचार चलिरहेको छ । यद्यपी यसको पूर्ण निदानको उपाय पत्ता लागिसकेको छैन । अर्थात अहिलेसम्म पुरै विश्व कोरोनासंगको निरन्तर संघर्षमा छ ।
भारतको धनबादस्थित ईण्डियन स्कुल अफ माइन्स (आइआइटी आईएसएम) का वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध राम्रै सफलता पाएको बताएका छन् ।
वैज्ञानिकहरुले कोरोना भाइरसबाट बच्न विशेष प्रकारको पोलिमेरिक सुपर हाईड्रोफोबिक कोटिङ बनाएका छन् । बैज्ञानिकहरुका अनुसार यो कोटिङलाई कपडामा लगाउँदा भाइरसको प्रवेश हुन पाउँदैन ।
अर्थात कोटिङयुक्त कपडाको सम्पर्कमा आउनासाथ कोरोना भाइरस पूर्ण रुपमा नष्ट हुन्छ । यो कोटिङको प्रयोग गरेर सामान्य कपडाहरुलाई पीपीई जस्तै सरक्षित बनाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यसको आविष्कार गर्ने आईएसएमको रसायन अभियन्त्रण विभागका प्रोफेसर आदित्य कुमारले थुप्रै परीक्षणहरु पश्चात यो सुपर कोटिङको विकासमा सफलता मिलेको हो ।
माईगोभ ईण्डियाको ट्वीटरमा उल्लेख गरिएअनुसार कोरोनानिरोधी कवचका रुपमा विकास गरिएको यो कोटिङ कपडामा लगाउनासाथ भाइरस, जीवाणु, फंगसलगायतका सुक्ष्म जीवहरु नष्ट हुन्छन् ।
नानो टेक्नोलोजीमा आधारित यो प्रविधिबाट भविष्यमा कोरोनासहित सबै खाले भाइरसलाई नष्ट गर्न सकिने दावी वैज्ञानिकहरुले गरेका छन् ।
आइआईटी आइएसएमका निर्देशक प्रोफेसर राजिव शेखरले यो कोटिङको पेटेन्ट राईट दर्ता पछि कपडा फ्याक्ट्रीहरुलाई वितरण गर्न सकिने बताएका छन् ।
प्रतिकृया दिनुहोस