‘श्रीमानले मान्नु भएन, १७ बच्चा फालिसकेँ’

Abortion

File Photo

अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका– ६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन् ।

दुई छोरी र एक छोराकी आमा उनले भनिन्, '१७ वटा बच्चा फालिसकेँ, यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्यान लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।'

स्वास्थ्य समस्याले अस्पताल आएकी उनले आफ्नो अवस्थाका बारेमा सुनाइन् । यति पीडा सहेकी उनकाे अझै अर्काे असह्य पीडा छ ।

उनका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उनले सुनाइन् । अझै दुःखको कुरा त यो छ कि उनका श्रीमान् सरकारी कर्मचारीसमेत हुन् ।


श्रीमानले हेरचाह नगरेपछि उनी अहिले माइती नेपालमा उजुरी गर्न पुगेकी छन् । उनले रुँदै भनिन्, 'परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नु भएन। आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनु हुन्न, अर्की श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।'

उनी उपचारका लागि हप्तैपिच्छेजस्तो अस्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसकिन् । तर, रगत बग्न रोकिएको छैन ।

सानै उमेरमा विवाह गरेकी उनलाई विवाहको २० वर्षपछि श्रीमानले छाडेको बताउँछिन् । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उनलाई बाँकी जीवनका बारेमा चिन्ता बढेको छ ।

हर्मनको गडबडीले शरीरमा देखिएका समस्या समाधान गर्न औषधि खाउन्जेल सन्चो हुने र औषधि खान छोडेपछि बल्झिने गरेको उनकाे भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि आफ्नो शारीरिक समस्याका कारण आफूलाई छाेडेर अर्की श्रीमती ल्याएको उनकाे दु:खेसो छ ।

हाम्रो समाजमा उनीजस्ता धेरै महिला छन् जो गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ ।

नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनका साधन सर्वसाधारणको पहुँचमा पुर्‍याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले बताए ।

चिकित्सक ठाकुरका अनुसार गर्भपतनपश्चात् अत्यधिक रक्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्छन्, 'पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल रगत दिएर उपचार गर्छौं । यस्तो अवस्थामा आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरूको स्वास्थ्य अवस्थातिर जान्छ ।'

ठाकुरका अनुसार औषधिको प्रयोगले गर्भपतन गराउनु सुरक्षित मानिए पनि १० हप्ता नाघेपछि औषधि प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका जटिलता निम्त्याउँछ । १० हप्ता नाघेको बच्चा औषधिले फाल्न समस्या हुने र केही टुक्रा गर्भाशयमा नै बस्नाले समस्या आउने उनी बताउँछन् ।

अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको उनकाे भनाइ छ । सरकारले नै सुरक्षित गर्भपतन गराउँदै आएको भए पनि समाजमा हुने मान्यता, चेतनाको कमी, बलात्कार तथा अन्य आपराधिक घटनाले गर्दा महिलालाई असुरक्षित गर्भपतन गराउन बाध्य बनाएको देखिन्छ ।

यसको अर्को प्रतिनिधि पात्र हुन्, हेटौँडा अस्पतालमा ६ महिनाको गर्भ फाल्न पुगेकी १७ वर्षीया एक किशोरी । नाम बताउन नचाहने उनले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाएको बताइन् ।

'साथीलाई घर पुर्‍याएर फर्कंदा बाटोमा देखेर घरनजिकैको दाइले आफ्नो घर बोलाए र मैले नाइँ नाइँभन्दा पनि जान बाध्य भएँ र बलात्कारमा परेँ,' रुँदै भनिन्, 'महिनावारी रोकिएको धेरै भएकाले ममी हस्पिटल आउँदा सँगै ल्याउनुभयो । जचाउँदा त बच्चा रहेछ ।'

उनी अहिले हेटौँडा अस्पतालले सञ्चालन गरेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको निगरानीमा छन् । उनी नाबालिग रहेको र जबर्जस्ती करणीबाट गर्भ रहेकाले गर्भपतन गराउन लागेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै, गरिबीका कारणले हेटौँडा–८ की अर्की १४ वर्षीया किशोरी पनि माइती नेपाल हेटौँडा कार्यालयको सहयोगमा आफ्नो गर्भपतन गराएकी छन् । १४ वर्ष नपुग्दै १९ वर्षीय युवकसँग भागी विवाह गरिन् । गर्भ बसेपछि श्रीमानले छाडेर भागेको उनले बताइन् ।

सार्वजनिक यातायातका ती सहचालकले पुनः अर्की १७ वर्षकी किशाेरीसँग विवाह गरेपछि न्याय खोज्दै माइती नेपालको सम्पर्कमा आएकी उनलाई बल्ल आफ्नो बालविवाह भएको थाहा भयो । त्यसपछि उनका सामु पनि गर्भपतनबाहेक अर्काे उपाय थिएन ।

मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी गर्भपतनसम्बन्धी परामर्शदाता कल्पना शर्माले भनिन्, 'आफूलाई शंका लागेर मेडिकलबाट औषधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ, पोजेटिभ देखेपछि औषधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।'

सरकारले औषधिमार्फत १० हप्तासम्मको गर्भपतन सुरक्षित भएको बताए पनि १५ हप्ता नाघिसकेको गर्भवतीले औषधि पसलबाट जथाभावी औषधि सेवन गर्नाले चुनौती थपिएको उनको भनाइ छ । बागमती प्रदेशमा वार्षिक १८ हजारभन्दा बढी महिलाले गर्भपतन गराउने गरेका छन् ।

यसमध्ये ८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ । गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतनबारे प्रचारप्रसारको अभावका कारण यो चुनौती अझै जटिल देखिएको छ ।

मकवानपुरमा अघिल्लो वर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यस वर्ष मात्र दुई हजार ३ सय २६ जनाले गर्भपतन गरिसकेका छन् । महिलालाई प्रजनन स्वास्थ्यको अधिकार छ । त्यसैले सुरक्षित गर्भपतन सेवा पनि सरकारले प्रदान गर्दै आएको छ ।

सरकारले निजी स्वास्थ्य संस्थामा १२ हप्ता र सरकारी अस्पतालमा २८ हप्तासम्मको सुरक्षित गर्भपतन गराउँदै आएको छ ।

१२ हप्तासम्मको गर्भ स्वेच्छाले फाल्न पाउने अधिकार महिलालाई छ । हाडनाता करणी, जबर्जस्ती करणी, बच्चा विकलाङ्ग हुन सक्ने अवस्था, बच्चाको कारणले आमाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थामा हेटौँडा अस्पतालमा २८ हप्तासम्मको गर्भपतन सेवा उपलब्ध छ । यद्यपि, १८ वर्षभन्दा मुनिका किशोरीको हकमा नातेदार लिएर आउनुपर्ने व्यवस्था छ ।

मुलुकी ऐनको ११औँ संशोधनपछि नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो । गर्भपतन सेवा सञ्चालन गर्न २०६० मा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो । मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीनवटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।

सरकारले २०५९ सालमा गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन समस्याका रूपमा झन्–झन् जटिल बन्दै गएको जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले बताइन् ।

उपप्रमुख पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्ने बताइन् ।

सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आए मात्र सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न महिला सहजै स्वास्थ्य संस्थामा आउने पुडासैनीको धारणा छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा यस प्रदेशका ७ हजार १ सय ६९ जनाले औजार प्रयोग गरेर गर्भपतन गराएको कार्यालयका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार गत आवमा यस प्रदेशका ११ हजार ३ सय ३६ जनाले औषधिको प्रयोगले गर्भपतन गराएका छन् ।

त्यसैगरी, चालू आवमा ६ हजार ६ सय ८२ जनाले औषधिको प्रयोग गरेर र पाँच हजार ४ सय ५९ जनाले औजारको प्रयोगले गर्भपतन गराएको अधिकृत भण्डारीले जनाइन् ।

भण्डारीका अनुसार गत आवमा २० वर्षमुनिका ५ हजार ९ सय ६८ जनाले औषधिको प्रयोग र १ हजार १ सय ५० जनाले औजारको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालू आवमा ७ सय १४ जनाले औषधि र ९ सय २२ जनाले औजारबाट गर्भपतन गराएका छन् र ती सेवाग्राही २० वर्षमुनिका रहेको तथ्याङ्कमा उल्लेख छ ।

गर्भपतनका लागि आएकालाई सरकारी सेवा केन्द्रले परिवार नियोजनको प्रयोगबारे सचेतना गराएपछि गत वर्ष २ हजार ८ सय ३४ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको अधिकृत भण्डारीले जानकारी दिइन् । त्यसैगरी गर्भपतन गराएकामध्ये चालू आवमा एक हजार ६ सय ८ जनाले परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् ।

मकवानपुरमा मात्र २ हजार ३ सय २६ जनाले गर्भपतन गराएको तथ्याङ्कमा उल्लेख छ । गर्भपतन परिवार नियोजनको विकल्प होइन तर महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानको बोझ कम गर्नका लागि स्वेच्छाले वा श्रीमानकाे करमा गर्भपतन गर्ने गरेका छन् । यसका कारण वर्षेनि गर्भपतन गराउनेमध्ये ८ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ ।

गर्भपतनको जोखिम कम गर्न गर्भपतनकै लागि जथाभावी औषधिको उपलब्धता हुन नहुने र महिला पुरुष दुवैलाई परिवार नियोजनको साधनसम्बन्धी आवश्यक जानकारी गराउनुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...