कविता : ‘म वाद’
कविता : ‘म वाद’
जून गाडेर उम्रिदैन
घाम रोपेर जन्मिदैन
अँध्यारोमा बाँच्नेहरु पनि उज्याला छन्
फोस्रो मुस्कानलाई ब्याजमा बाँड्दै नहिँड्नस् ।
बतास समाउन मिल्दैन
पानी अठ्याउन मिल्दैन
आगो निलेर अघाउनेहरु पनि शान्त छन्
आँशुको अभिनय गरेर भ्रम बाँड्दै नहिँड्नुस् ।
फूल टिपेपछि फुल्दैन
माटो चिमोटे पनि दुख्दैन
भासिएर जमिनमा मुस्कुराउनेहरु पनि खुशी छन्
जिब्रोमा धार लगाएर वचनले काट्दै नहिँड्नुस् ।
हातले च्यातेर हिमाल फाट्दैन
नङले कोपरेर पहाड ढल्दैन
थाप्लोमा नाम्लो बोक्नेहरु पनि अग्ला छन्
आँखाले बम पड्काएर स्वभिमान ढाल्दै नहिँड्नुस् ।
आफू मात्रै महान हुने भए
मरिचले चाउरिनु पर्ने थिएन
आफू मात्रै सही हुने भए
ऐनाले उल्टो देखाउने थिएन ।
पाख्रिबास, धनकुटा
प्रतिकृया दिनुहोस