कविता : हजुर मेरो बालीघरे विस्ट
उत्रिएको छु जिन्दगीको मैदानमा
कफन बाधेर जिउनलाई
रातो आरनमा खेल्दै फलामका लाभाहरुसँग
हजुरलाई बचाउन बनाउँदै छु थुप्रै हतियार
मलाई जिउनु छ हजुरलाई बाची रहनु
यो लामो दुरीको संसार
छोटो दुरीको मेरो यात्रा
मागिनँ मेरो श्रमको मुल्य
भै गो हजुर मेरो बालीघरे बिस्ट ।
आफैँलाई उधारेर
इज्जत हजुर कै सिलाएँ
रेटेर अभावमा जिन्दगीलाई
मिठो धुन सारंगीको हजुरलाई नै सुनाएँ
नानीबाट बर्सिएर भोकको भेलले बगाऊदानी
खान देउ भन्दिनँ म
हजुरको ताकमा नरुचेकै गाँस कोच्याउने
हजुर मेरो बालीघरे बिस्ट ।
काला बादल मडारिन्छ मनमा
घरिघरि बिजुली चम्किन्छ आँखामा
दिउँसै लटरम्म फुलेका हजुरका सपना
कालो रातमा मात्रै फुल्छ मेरो सपना
यो अन्तरमा हजुर झरी नुहाउनु हुन्छ
म भत्भती पोल्ने खडेरी सहन्छु
म अंगार भएपछि पानी खन्याउने
हजुर मेरो बालीघरे विस्ट ।
मेरो फूलबारीको चम्पा बिटुल्याउँदा
धुम्म परेको पहाड जस्तै भएको थिएँ
उ जिउँदै मरी हजुरको मर्जी
डाडो कटाएर मेरो नयाँ बास बसाई दिने
हजुर मेरो बालीघरे बिस्ट ।
हजुरको पुरानो आनी बानी
आजको नयाँ युगको हजुरको चिन्तन
हिजो तारो हानेर आँखा फोर्नु हुन्थ्यो
आज उपचार गरेर अन्धो पार्नु हुन्छ
म आफ्नै सन्तानको कालो भविश्यको कुवा खनिरहेछु
हजुर शुद्ध जल निकालेर पिउँदै हुनुहुन्छ आफ्ना लागि
तर म विष कुवा खन्ने छैन हजुरलाई खुवाउन
हजुर आफैँ समयको हलाहल
निल्ने तयारीमा
मलाई सडक, सदन, गाउँ र शहरमा
सधैँ बालीघरे बनाई राख्ने
हजुर मेरो बालीघरे विस्ट ।
धनकुटा
हाल : बिर्तामोड, झापा
प्रतिकृया दिनुहोस