भगवानको घरमा कहिलेसम्म लाग्ला भोटे ताल्चा ? (फोटो फिचर)

काठमाडौं । गत चैत ११ गतेदेखि मुलुक लकडाउनको कहरमा छ । मानिसहरु बन्द कोठामा थुनिएका छन् । यतिसम्मकी बन्द कोठाबाट मानिसले आफुँले मान्दै आएका भगवानलाई ढोग गरिरहेका छन् ।
हामी नेपालीहरु मनले भन्दा पनि शरीरकै उपस्थितीमा आस्थाका धरोहरका रुपमा भगवानलाई मान्ने गर्छौ । हाम्रा लागि आस्थाको केन्द्र हो मन्दिर, गुम्बा, गुरुद्वारा, मस्जिद र चर्चहरु ।
जो जसले जुन धर्म माने पनि हामी हामीले पुज्ने भगवानको घरमा समय मिलाएर जाने गर्छौ । कोही दिनहुँ जाने गर्छौ भने कोही समय मिलाएर जान्छौ । जहाँ पुगेपछि मुक्ति पाएको महसुस गर्छौ ।
तर हाम्रा आस्थाका केन्द्र भगवानका घरहरुमा भोटे ताल्चा लगाइएको छ । आज लकडाउन भएको पनि ५२ दिन भइसकेको छ । लकडाउनको ५२ औं दिनसम्म सहर बजार मात्र होइन, धार्मिक स्थालहरु पनि बन्द छन् । उपत्यकाका विभिन्न मठ, मन्दिर, गुम्बा, मस्जिदहरुमा ताल्चा लगाइएको छ ।
यतिवेला मुस्लिम समुदायले १ महिना लामो रमजान मनाइरहेका छन् । तर उनीहरु मस्जित भन्दा टाढा छन् । उनीहरुलाई आफ्ना भगवान बस्ने घरका बारे वेखवर छन् घरमै बसेर नवाज पढिरहेका छन् ।
हिन्दु धर्मालम्बीहरु कुनै पनि मन्दिरहरु गएका छैनन् । गए पनि भोटे ताल्चाकै दर्शन गरेर आफ्नो मन हलुंगो बनाएर फर्किरहेका छन् । आइतबारदेखि लकडाउन केही खुकुलो भएका बेला नजिकका मन्दिर पुग्नेहरु पनि न्यास्रो मान्दै पुजा गरेर फर्किए । आजभोली त मन्दिरमा गएर पुजाआज गरेको दृष्य दुर्लभ मात्रै देख्न पाइन्छ ।
अब लकडाउनको कहर नसकिएसम्म हाम्रा आस्थाका धरोहर भगवानको घरमा लागेको भोटे ताल्चा खुल्ने अवस्था छैन । यस्तो कहाली लाग्दो अवस्था देखेर लाग्छ, हाम्रा आस्थाका भगवानहरुलाई विना भक्त ‘पानी विनाको माछा’ झै छटपटिँदै होलान् ।
तस्विर : सुरज गौतम/निशान न्युज
प्रतिकृया दिनुहोस